खरसाङ: विश्वभरिका गोर्खाहरुलाई संगीतको माध्यमबाट एक गराउने गायक प्रशान्त तामाङको पार्थिव शरीरलाई खरसाङमा अश्रुपूर्व श्रध्दाञ्जली अर्पण गरिएको छ। सन् २००७ मा भारतको गायन रियारिटी शो इण्डियन आइडल, सिजन तीनका विजेता बनेका प्रशान्त तामाङको आईतबार दिल्लीमा आकास्मिक निधन भएपछि उनको पार्थिव शरीरलाई आज बागडोगरा विमानस्थलबाट सोझै राष्ट्रिय राजमार्ग ११० बाट खरसाङ ल्याइपुऱ्याइएको थियो। खरसाङको रेलवे स्टेशन परिसरमा उनको पार्थिव शरीरलाई केहीबेर राखियो, जहाँ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, सूचना एवम् सांस्कृतिक विभागका कलाकारहरूले गीत गाएर श्रध्दाञ्जली अर्पण गरेका थिए। यसको साथै उपस्थित सबैले खदा, माला लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।यस अवसरमा प्रशान्त तामाङलाई २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ, उपाध्यक्ष सुवास प्रधान लगायत विभिन्न राजनीतिक दलका नेतृत्वहरू, सङ्घ-संस्थाका प्रतिनिधिहरू, कलाकारहरू तथा खरसाङका आम मानिसहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। यस अवधि संगीतकार रूपेश रसाइली, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङले प्रशान्त तामाङको निधनप्रति शोक व्यक्त गर्दै उनको निधनले सम्पूर्ण संगीत एवम् कलाकारिताको क्षेत्रलाई ठूलो क्षति भएको बताए। प्रशान्त तामाङले आफ्नो गायन क्षेत्रबाट गोर्खाहरूलाई विश्वभरि नै परिचित गरिएको जनाउँदै उनको आकस्मिक निधनले सम्पूर्ण गोर्खा जाति अनि उनका शुभचिन्तकहरूलाई स्तब्ध बनाएको जनाए। तिनीहरूले दिवंगत तामाङको आत्म शान्तिको निम्ति कामना गर्दै शोकाकूल परिवारमा हार्दिक सम्वेदना पनि व्यक्त गरेका छन्।








