खरसाङबाट सुमेन्द्र तामाङद्वारा स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड्ने घोषणा

IMG-20260322-WA0055

हाम्रो लागि चुनाव मात्रै होइन तर वैचारिक पहलको लागि पनि चुनाव लड्न तयार रहेको छु: सुमेन्द्र तामाङ

खरसाङ: यसपालीको बंगाल विधानसभा चुनावमा खरसाङ विधानसभा समष्टिमा श्रमजीवि पहलबाट खरसाङको बरबुङ बस्ती निवासी सुमेन्द्र तामाङद्वारा स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड्ने घोषणा गरेका छन्। यस विषयमा आईतवार खरसाङमा पत्रकार सम्मेलन गरेर श्रमजीवी पहलका प्रतिनिधिहरुले‌ सुमेन्द्र तामाङ स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड्ने घोषणा गरेका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै श्रमजीवी पहलका प्रतिनिधिहरुमा खरसाङको लङ्भ्यू चियाबारी निवासी तनुजा लामाले जहिले पनि भोट दिएर जिताएर अरुलाई जनप्रतिनिधि बनाएर पठाउने गरेको तर श्रमिकहरुको पक्षमा केही नगरेको र यसपाली आफुहरुले आफ्नै प्रार्थी चुनावमा तयार पारेको बताइन्। त्यसरी नै रिङटाङ चियाबारी निवासी सुधा तामाङले यसपालीको विधानसभा चुनावमा श्रमिकहरुको पक्षमा खरसाङ विधानसभा समष्टिमा श्रमजीवि पहलबाट सुमेन्द्र तामाङद्वारा स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड्ने बताइन्। उनले भोट जितेर गए पनि कसैले पनि श्रमिकहरुको पक्षमा काम नगरेको र श्रमिकहरुको हितमा काम गर्नलाई श्रमिकहरुले नै सुमेन्द्र तामाङलाई स्वतन्त्र प्रार्थीको रुपमा उठाएको जानकारी गराएकी छन्।‌ उनले भनिन्, ‘हाम्रो मांग हामीले नै उठाउनुपर्ने रहेछ। बगानमा काम गर्ने हामीले नै हाम्रो मागलाई सही तरिकाले उठाउन पर्ने आवश्यकता देखिएको छ। यसपाली श्रमिकहरुको लागि हामी सबै श्रमिकहरु नै एक भएर अघि आउनुपर्छ र हाम्रो प्रार्थीलाई जिताउनु पर्छ।’
स्वतन्त्र प्रार्थी सुमेन्द्र तामाङको पक्षमा पत्रकारहरुसित कुराकानी गर्दै छेवाङ योञ्जनले भने, हामी अचानक चुनावमा उठेको होइन तर विगत १०-१२ वर्षदेखि लगातार रुपमा दार्जिलिङ कालेबुङ क्षेत्रमा विभिन्न मुद्दाहरु लिएर कार्य गरिरहेको र आफुहरु खटिखाने श्रमिकहरुको पक्षमा काम गर्दै आईरहेका थियौँ। यो‌‌ चुनाव श्रमिकहरुको पहलमा नै स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड्ने घोषणा गरेका हौँ। यसलाई हामी एक पहल र वैचारिक पहलको रुपमा लिएका छौँ।’
उनले केन्द्रको चारवटा श्रम कानुनहरु श्रमिकहरुको विरुद्धमा‌ रहेको बताउँदै यस्तो नीति भएको राजनैतिक दललाई जिताउनु हुँदैन कारण सरकारको यो नीति घातक हो भनी बताएका छन्। उनले श्रमिकहरुको लागि केन्द्र र राज्यको नीति ठीक नभएको र श्रमिकहरुको पक्षमा बोल्ने कोही नभएपछि हामी आफैले पहल नगरेपछि आफुहरु अघि आएर स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड्न तयार रहेको बताए। छेवाङ योञ्जनले भने, सरकारको नीति विरुद्ध हाम्रो जनप्रतिनिधिहरुले बोल्न सकेनन् तर सरकारको नीति विरुद्ध जनप्रतिनिधिले बोल्न सक्नुपर्छ। हाम्रो आवाज संवैधानिक स्थानतिर बोल्न पाउनु नै ठूलो कुरा हो।’
त्यसरी नै श्रमजीवी पहलका स्वतन्त्र प्रार्थी सुमेन्द्र तामाङले आफु श्रमजीवी पहलका रूपमा अघि आएर स्वतन्त्र प्रार्थीको रुपमा चुनावमा होमिएको बताए। उनले भने, हामी हाम्रो मुद्दा लिएर विगत १२-१३ वर्षदेखि सामाजिक र युवा प्रतिनिधिको रूपमा काम गर्दै आईरहेको थियौं। यसपालीको चुनावमा जनतालाई विकल्पको रूपमा अघि आएर चुनाव लडेको र हाम्रो माग छ- ‘नो‌ भोट टु बीजेपी र नोट भोट टु तृणमूल’ भन्दै यसपाली युवा प्रतिनिधिको रूपमा अघि आएको बताए।‌ सुमेन्द्र राईले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, एसआईआरको कारणले यसपाली जनताले धेरै असुविधा भोग्नु परेको छ। हाम्रो पहाडका तीनजना विधायकहरुले जनप्रतिनिधिको हिसाबमा जनताको पक्षमा सरकारको नीतिको विरोध गर्नु पर्ने हो तर कसैले‌ गरेनन्। त्यसैले यसपाली हामीले हाम्रो मागलाई अघि बढाउन सबै नागरिक समाजको मत लिएर स्वतन्त्र प्रार्थीको रुपमा यसपालीको चुनावमा उठ्न तयार रहेको छु। यो हाम्रो लागि चुनाव मात्रै होइन तर वैचारिक पहलको लागि पनि चुनाव लड्न तयार रहेको छु।’

उनले अघि भने, एकजना स्वतन्त्र प्रार्थीको रुपमा विधानसभामा पुगेर झिल्काको रुपमा काम गर्न तयार रहेको छु। हाम्रो संख्या कम होस् तर हामी हाम्रो मांगलाई लिएर जनतामा सचेत गराउन चाहान्छौं। यसको साथै समाजको संरचना परिवर्तन गराउन चाहान्छौं।’

About Author

Advertisement