खरसाङ: बर्खाले गाउँको बाटो-घाटो र सड़क छेउको घाँस-पात बढ़ेर जङ्गलमा परिणत भइसक्दा पनि विभागीय पक्षबाट कुनै सुरसार नदेख्दा गत वर्षदेखि डाउहिल सुनौलो परिवार समितिले गाउँ र सड़क सफाई अभियानको रूपमा प्रत्येक वर्ष यस जिम्मेवारीलाई वहन गर्ने सुनिश्चित गरेको छ। यस क्रममा गत वर्ष झैँ यस वर्ष पनि समितिले आफ्नो सदस्यहरूको सहयोग लिएर आफ्नो गाउँ डाउहिल पाखा र यस क्षेत्रमा पर्ने डाउहिल पथ (हाल शिवकुमार राई पथ) दुई दिन लगाएर फाँड़फुड़ र सफाई अभियान सम्पन्न गर्न सफल भएको छ। गत केही वर्षदेखि यस क्षेत्रमा नगरपालिकाबाट वर्षेनी हुने ब्लिचिङ पाउडर छिड़काऊ कार्यक्रम पनि ठप्प भएको जन गुनासो छ। नयाँ कार्यकारिणी समितिले कार्यभार ग्रहण गरेदेखि उसो समितिले गाउँको परिवेश र वातावरणलाई स्वच्छ र परिष्कृत राख्न विभिन्न उपायहरूमाथि काम गर्दै आइरहेछ। गणतन्त्र दिवस भानु जयन्ती, स्वतन्त्रता दिवस, वयोवृद्ध सदस्यहरूका सम्मान, विपन्न परिवारको रोगकष्टमा आर्थिक सहयोग बाहेक समितिले मरौ परेको बेला सदस्यहरूको उपस्थिति र सहयोगको नियमलाई अपरिहार्य बनाएर गाउँको एकता,आत्मीयता र सद्भावनामा विशेष उर्जा थपिएको कुरो ग्रामवासीहरू मान्दछन्। यसबाहेक अध्यक्ष दावा लामा र सचिव फूर्बा तामाङको नेतृत्वमा रहेको यस समितिलाई गाउँवासीहरूको पूर्ण सहयोग र विश्वास रहेको कुरो पनि समितिको प्रत्येक अभियानमा रहेको साथ र सहयोगबाट स्पष्ट बुझ्न सकिन्छ। यस समितिको अर्को विशेष अभियान हो नेपाली भाषाको प्रयोग।भाषाले मान्यता पएको तीस वर्ष पुगिसक्दा पनि यसको विकासमा आएको गतिरोध हाम्रो कमजोरी हो भन्ने कुरो बुझेर समितिको वाट्सेप समूहमा नेपाली भाषाको प्रयोग अनिवार्य गरेको छ। यसले नेपाली भाषाको सम्वर्द्धनमा निश्चय नै थप टेवा पुग्ने कुरोमा विश्वास गर्दै समितिले अन्य समाज र संस्थाहरूलाई पनि मातृभाषाको सुरक्षा र विकासको निम्ति अघि आउने आह्वान गरेको छ।भाड़ा-वर्तन, तिरपाल र अन्य सामग्रीहरूको जोगाड बाहेक पनि गाउँको परिवेश स्वच्छ राख्नु,गाउँ विकासको उपायहरूमाथि विवेचना गर्नु र युवाहरूलाई उचित मार्गदर्शन गर्नु यसबेला कुनै पनि समाजको महत्वपूर्ण र नैतिक जिम्मेवारी हो भन्ने समिति ठान्दछ। यस पहलमा समितिको हरेक सदस्यको परिवारबाट कम्तिमा एक व्यक्ति अघि आउनुपर्छ भन्दै अध्यक्ष दावाले यस दुई दिने सफाई अभियानलाई आफ्नो साथ र सहयोगले सफल तुल्याउने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका छन् भनी सह सचिव विनोद रसाइलीले जानकारी गराएका छन्।








