खरसाङ: खरसाङको एमआरसपका कतिपय दोकानहरूले ठीकसित राशन वितरण नगरेको जनताको गुनासोलाई मध्य नजर राख्दै अब तृणमूल कंग्रेसको भातृ सङ्गठन राष्ट्रिय तृणमूल कंग्रेस ट्रेड युनियनले निरीक्षण गर्ने तय गरेको छ। विशेष अहिलेघरि पहाडमा बन्सल कम्पनी साथै कतिपय बगानहरू बन्द छ। यति ठूलो आपद आईपरेको समयमा एमआरसप डिलर साथै दोकानदारहरूले सही प्रकारले राशनहरू वितरण नगरेको गुनासो श्रमिक साथै आम जनताहरूले राष्ट्रिय तृणमूल कंग्रेसको ट्रेड युनियन सचिव सन्तोष मोक्तान साथै उनको टिमलाई जनाएपछि पत्रकार सम्मेलन गरी सरकारले दिएको राशन सही प्रकारले दिएको हुनुपर्छ भन्दै अब चाढै खरसाङको खाद्यान्न विभागको विभागीय अधिकारीसित भेट गरी यस विषयमा जानकारी लिने भएको छ। यस विषयमा एमआरसप डिलरसित पछिबाट जानकारी लिने अनि कुनै पनि समय सरकारी राशन वितरण गरिने दोकानमा गएर निरीक्षण गर्ने भनी बताएका छन्। तृणमूल कंग्रेसको ट्रेड युनियनको सचिव सन्तोष मोक्तानले सरकारले जनतालाई प्रत्येक घरमा राहत होस् भनी सित्तैमा राशन वितरण गरिरहेको बेला यसमाथि पनि कसैले धाँदाली गर्छ भने अब हामी चुप लागेर बस्ने छैनौं भनी कडा बयान जारी गरेका छन्। उनले राशन कार्डलाई डिजिटल बनाउने पहल चलेको करीब छदेखि सात महिना पुग्दा पनि अझैसम्म धेरै मानिसहरूको फोनमा सरकारद्वारा कति राशन पाउनुपर्छ भनी कुनै म्यासेज आएको छैन् अनि कतिजनाको अहिलेसम्म फिङ्गर प्रिन्ट नमिलेर सरकारले दिएको राशीन पाउन सकेका छैन र यस्तो समय पनि किन यसको राम्रोसित कार्य भएको छैन् भनी प्रश्न तेर्साएका छन्। अब यो सबै विषयमा छानबीन भएको हुनुपर्छ र यदि यस सम्बन्धमा कसैलाई पनि समस्या छ भने या त कसैले सुनेनन् भने हाम्रो युनियको कार्यालयमा आएर जनताले आफ्नो सुझाव राख्न सक्ने बताएका छन्। यस विषयमा जनताको गुनासोसित युनियनको तर्फबाट श्रम मन्त्री अनि खाद्यान्न मन्त्रीलाई भेट गरी पत्रचार गर्ने भनी बताएका छन् । आज विशेष गरी युनियनको तर्फबाट राष्ट्रिय तृणमूल कंग्रेस ट्रेड युनियनको सचिव सन्तोष मोक्तान, तृणमूल चाय बगान श्रमिक युनियन खरसाङ महकुमाबाट सह सचिव राकेश बमजन, गौरी शंकर ट्रेड युनियन अध्यक्ष साजन तामाङ, युनियन सदस्य सरन लामा विशेष रुपमा उपस्थित रहेका थिए।










