खरसाङकी वरिष्ठ साहित्यकार आशा मुखिया लामा दक्षिण सिक्किम साहित्य सम्मेलनबाट नेपाली साहित्य सम्मानद्वारा सम्मानित

IMG-20250324-WA0198

खरसाङ: खरसाङकी वरिष्ठ साहित्यकार, गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा, समाजसेवी साथै साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामालाई दक्षिण साहित्य सम्मेलनबाट ‘नेपाली साहित्य सम्मान’ द्वारा सम्मानित गरिएको छ। आज दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ ३०औं स्थापना दिवस कार्यक्रममा विभिन्न साहित्यकारहरुसितै उनलाई पनि सम्मानित गरिएको छ। दक्षिण सिक्किमको नाम्चीस्थित अफिसर्स क्लबमा आयोजित सिक्किम राज्य स्तरीय पुरस्कार अलङ्करण समारोहमा ‘नेपाली साहित्य सम्मान’ द्वारा सम्मानित गरिएको छ। उक्त कार्यक्रम दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ पूर्व अध्यक्ष एंव वर्तमान सल्लाहकार डा नयन राईको अध्यक्षता र वरिष्ठ साहित्यकार एंव शिक्षाविद् धन ‘निर्दोष’ सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। सम्मेलनको महासचिव सुरेश सुब्बा ‘वियोगी’ को सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत सम्भाषण दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ अध्यक्ष दलमान डी गुरुङले राखेका थिए। यस अवसरमा उनलाई खदार्पणसहित शल ओढाएर सम्मान गर्दै सम्मान पत्रद्वारा सम्मानित गरिएको छ। उनलाई नेपाली साहित्यमा लागातार रुपमा दिईरहेको विशिष्ट योगदानको लागि ‘नेपाली साहित्य सम्मान्’ द्वारा सम्मानित गरिएको छ। कार्यक्रममा वरिष्ठ साहित्यकार आशा मुखिया लामाको संक्षिप्त परिचय सन्ध्या छेत्रीले राखेकी थिइन्।कार्यक्रममा उनीसितै असमका वरिष्ठ साहित्यकार केबी नेपाली, सोरेङ पश्चिम सिक्किमका प्रकाश भट्टराई, देन्ताम पश्चिम सिक्किमकी रिक्की ल्हमु लेप्चा, मणिपुरका राहुल राई ‘बोगिको’ र सुम्बुकका विक्रम किशोर गौतमलाई पनि नेपाली साहित्य सम्मानद्वारा सम्मानित गरिएको छ। यस अवसरमा सम्मानित व्यक्तित्व आशा मुखिया लामाले यो सम्मानको लागि दक्षिण सिक्किम साहित्य सम्मेलनप्रति आभार प्रकट गरेकी छन्।

आशा मुखिया लामा वरिष्ठ साहित्यकार एंव समाजसेवी साथै सांस्कृतिक अभियन्ता पनि हुन्। उनी हालमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या पनि हुन्। आशा मुखिया लामाले नेपाली साहित्यमा थुप्रै कृतिहरू प्रकाशित गरिसकेका छन्। उनको कृतिहरु – ‘रहर अक्षर’ (विविध रचना संग्रह – २०१९), गाडधन ( चिन्तन संग्रह – २०२०), चिसो मरुभूमितिर (यात्रा संस्मरण – २०२३) आदि प्रकाशित छन्। उनले गोर्खा जनपुस्तकालयद्वारा पुनः प्रकाशित चन्द्रिकाको १,२ र ३ मा सह सम्पादन गरेका छन्‌। त्यसरी नै उनले साहित्य अकादमीको तर्फबाट ‘प्रतिष्ठित व्यक्तित्व संस्मरण, संस्कृति विशेषाङ्क, भाषा परिसंवाद अनि समसामयिक विमर्श, मेरो जन्मथलो र कर्म थलोको कथा आदि पनि सम्पादन गरिसकेका छन्‌। विभिन्न सांस्कृतिक र सामाजिक संस्थाहरुसित जोडिएर सक्रिय रुपमा साहित्यिक र सामाजिक कार्यमा सक्रिय रुपमा लागि परेका छन्।

About Author

Advertisement