खरसाङकी कथाकार छिमी अङ्मु लामाकृत कथा संग्रह ‘एक मुक्त मुनाल’ क दोस्रो संस्करण लोकार्पित

IMG-20240608-WA0243.jpg

खरसाङ: खरसाङकी कथाकार छिमी अङ्मु लामाकृत कथा सङ्ग्रह ‘एक मुक्त मुनाल’को दोस्रो संस्करणको आज क्याफे द ट्विन्स, सालबारीमा विभिन्न साहित्यिक स्रष्टा एवम् साहित्य अनुरागीहरूको उपस्थितिमाझ लोकार्पण गरियो। क्याफे द ट्विन्स, हाम्रो किताब घर अनि ज्ञानकुञ्ज बुक्सद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा निमा लामाले स्वागत वक्तव्य राखेका थिए। आफ्नो वक्तव्यमा लामाले जीवनमा साहित्य, संगीत, कलाको आवश्यकतामाथि जोर दिँदै युवा सर्जकहरूले सिर्जन कार्यमा निरन्तरता दिइरहन पर्ने बताए। उपस्थित गन्यमान्य व्यक्तिहरूको बाहुलीबाट लोकार्पित पुस्तकबारे बोल्दै आख्यानकार छुदेन काविमोले कथा सङ्ग्रह ‘एक मुक्त मुनाल’का पात्र-पात्रा, विषय वस्तु आदिबारे आफ्नो मन्तव्य राखेका थिए भने कथाकार छिमी अङमु लामाले कथाका पृष्ठभूमि अनि आफ्नो लेखनबारे मन्तव्य राखेकी थिइन्। वरिष्ठ साहित्यकार मोहन ठकुरीले पुस्तक लोकार्पित भएको घोषणा साथै आफ्नो सम्बोधनमा कथाकारलाई बधाई प्रकट गरे भने वरिष्ठ नारी सर्जक, गोर्खा सांस्कृतिक संस्थान, खरसाङकी अध्यक्ष आशा मुखिया लामाले कथाकारसितको संस्मरण साझा गरिन्। प्रकाशकको पक्षबाट सञ्जीव छेत्रीले पुस्तकको दोस्रो संस्करणबारे प्रकाश पारे तथा युवा चलचित्र निर्माता/निर्देशक विक्की राईले छिमी अङमु लामाकृत कथामाथि आधारित लघु चलचित्र ‘शान्ति’ले सर्वियाको कुस्टेनडर्फ इन्टरनेसनल फिल्म एण्ड म्युजिक फेस्टिभलमा भारतलाई प्रतिनिधित्व गर्दै दोस्रो स्थान प्राप्त गर्न सफल हुँदाको प्रसंग साथै कथाकार लामाका कथामा पाइने तत्वहरूको उल्लेख गरेका थिए। रोचक ढङ्गमा सम्पन्न कार्यक्रमको उद्घोषणा अञ्जना भण्डारीले गरेकी थिइन् अनि लेखा राईले धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रममा साहित्यकार ज्ञानेन्द्र खतिवडा, देविका मंग्राती, ललिता जोशी, लतिका जोशी, सरोजिनी सागर देवान, मिना राई लामा, विणा प्रधान, विमला सुब्बा, पारस लामा, टी सी लामा, पासाङ लामा, छेवाङ योञ्जन अनि अन्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement