खरसाङ: अहिले पहाडको राजनीतिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीको विकल्प छैन भन्दै क्रामाकपा पार्टीबाट दश परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा सामेल भएका छन्। अनित थापाको नेतृत्वलाई स्वीकार गर्दै अन्य पार्टीलाई तिलाञ्जली दिँदै पार्टीका नेता, कार्यकर्ता अनि समर्थकहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने क्रम चलिरहेको बताइएको जानकारी प्राप्त भएको छ। आज रङबुलमा आयोजित एउटा कार्यक्रममाझ सीपीआरएमका चन्द्रमानधुरा लोवर ग्राम पञ्चायत २ का सदस्य सुजै राईको नेतृत्वमा १० परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनीहरूलाई पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले पार्टीको झण्डा थमाएर पार्टीमा सामेल गराएका छन्। सामेल हुनेलाई पार्टीमा स्वागत गर्दै अनित थापाले भने, “पार्टीको सोच, कार्यशैली अनि गाउँको विकास गर्नुपर्छ भन्ने विचार बोकेर पार्टीमा सामेल हुनु हुनेलाई पार्टीमा स्वागत गर्दछु। हामीले हार र जीतको राजनीति गरेनौं। हारेको ठाउँमा पनि हामीले विकासका कार्यहरू गरिरहेका छौं। हाम्रो राजनीति विचार अनि सोचको परिवर्तनको अभियान हो। आज सामेल हुनु हुनेहरुले आफ्नो परिवार छोडेर हाम्रो परिवारमा सामेल हुनु भएको छ। अब बितेको कुरा परिवारमा उठाउनु हुँदैन।”

सामेल हुनुको औचित्य बताउँदै सुजै राईले भने, “हामीले यथार्थको राजनीति गर्नु पर्दो रहेछ। रिजन, भिजन अनि मिसन हेरेर नै राजनीति गरिन्छ। हाम्रो धुरामा विकासको मूल फुटाउन बाँकी नै छ। यहाँका मानिसहरू विकासदेखि वञ्चित छन्। त्यसैको निम्ति आज म पार्टीमा सामेल भएको हुँ। ममाथि जनताले राखेको आशा एक्लै पूरा गर्नु नसक्ने रहेछु भन्ने मलाई महसुस भयाे। अनित सरको व्यावहारिक राजनीतिप्रति आकर्षित भएर नै म सामेल भएको हुँ।”









