क्याप सिक्किमको महिला परिषद्को सभा सम्पन्न, सन्जु राई नियुक्ते प्रमुख सल्लाहकार

IMG-20240717-WA0003

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमको महिला परिषद्को सभा आज पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको छ।
सभामा महिला परिषद्की कार्यकारी उपाध्यक्ष तथा महिला प्रभारी सुमती छेत्री, केन्द्रिय कार्यकारी समितिकी कार्यकारी उपाध्यक्ष सन्जु राई, महिला परिषद्की अध्यक्ष बिना शर्मा, नाम्ची जिल्ला महिला परिषद्की अध्यक्ष हेलेन राई लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सभामा सन्जु राईलाई महिला परिषद्को प्रमुख सल्लाहकार पदमा नियुक्त गरिएको कुरा महिला परिषद्की महासचिव अर्पणा राईले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकी छन्।
आफ्नो अध्यक्षीय सम्बोधनमा अध्यक्ष गणेश राईले सिक्किमका महिलाहरू सानो-सानो सुविधाका लागि सम्झौता गर्न बाध्य भइरहेको अवस्था रहेको उल्लेख गर्दै महिलाहरूलाई आफ्ना अधिकारको पक्षमा बोल्न नसक्ने वातावरण रहेको बताए। उनले महिलाहरूले राजनीतिक पूर्वाग्रहको कारण सामान्य रोजगारी वा पारिवारिक निर्णयमा पनि कठिनाइ भोग्नुपरेको बताए।
गणेश राईले महिला अधिकारका नाममा मीठा भाषण र कार्यक्रम भए पनि पृष्ठभूमिमा उत्पीडन जारी रहेको आरोप लगाउँदै, यस्तो अन्यायको विरोधस्वरूप नै सीएपी सिक्किम स्थापना भएको स्पष्ट पारे। उनले सम्पूर्ण महिलालाई अन्यायविरुद्ध एकजुट भई सशक्त आवाज उठाउन आह्वान गरे।
सभामा महिला परिषद्का वरिष्ठ नेतृत्वले पनि महिलाको सशक्तिकरण, समान अधिकार र न्याय सुनिश्चित गर्नका लागि आफ्ना विचार राखेका थिए।

About Author

Advertisement