दार्जीलिङ: “गोर्खा स्वाभिमान संघर्षको मञ्चमा देखिएको मिलन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लाई रोक्ने मिलन मात्र हो। त्यो मञ्चको अभियान गोर्खाल्याण्डको निम्ति नभएर दार्जीलिङ नगरपालिका बोर्ड बचाउने अभियान हो।” भन्ने विचार पोखेका छन् गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख अनित थापाले। विगत कतिदिन अघिदेखि चलिरहेको गोर्खा स्वाभिमान संघर्षमा पहाडका राजनैतिक दलका नेताहरुले मञ्च साझा गरे। तर अनित थापालाई त्यो मञ्चमा देखिएन। यही विषयलाई लिएर दार्जीलिङ जज बजार स्थित पार्टीको केन्द्रीय कार्यालयमा अनित थापाले पत्रकारहरु आफ्नो विचार राखे। उनले भने, “नगरपलिकामा कराउँदा गोर्खाल्याण्ड पाउने भए त उहिले नै पाई सकेको हुनेथ्यो। मलाई गाली गर्ने मञ्च भएको छ। मलाई गाली गरेर गोर्खाल्याण्ड पाउँछ भने भरपूर गाली गर्दा हुन्छ। वास्तवमा नगरपलिका छेउ भईरहेको संघर्ष नगरपालिकाको बोर्ड बचाउने अभियान हो।” क्यापिटल हलको मञ्चमा विभिन्न राजनैतिक नेताहरुको मिलन माथि टिप्पणी गर्दै उनले भने, “त्यो मञ्चमा जो जो मिलेको देखि रहेका छौ, त्यो मिल्ने व्यक्तिहरु हिजोको दिनमा एक अर्कालाई हेर्नु नै नसक्ने व्यक्तिहरु हुन्। कसैले कसैलाई तोडेको, कसैले कसैको घर जलाई दिएको, कसैले कसैलाई पहाड छिर्नु दिन्न भनेको। यी व्यक्तिहरु अहिले मिलेको जस्तो गर्दैछन्। एक मञ्चमा आउनु राम्रो हो। तर उद्देश्य र मुद्दा ठीक हुनुपर्छ। बी जी पि एमको लोकप्रियता धेरै बढेर गएको छ। उनीहरूको मिलनको उद्देश्य बी जी पि एम पार्टीलाई रोक्नु मात्र हो।”पञ्चायत चुनाव माथि अहिले बनिन्दै गरेको मिलन कति प्रभावशाली रहनेछ भनी सोधिएको प्रश्न मा उनले भने, “म मेरो काम अनि दल संग मतलब राख्छु। पञ्चायत चुनावमा भोट नेताले होइन जनताले हाल्ने हो। जनताले गत जी टी एको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई भारी बहुमतले विजयी बनाएको छ। कमान बस्तीका जनताले देखाई दिई सकेका छन्।” बाम फ्रन्ट का नेता समन पाठकको आजको मञ्चमा उपस्थिति माथि उनले भने, “समन पाठक व्यक्तिगत रूपमा आउनु भएको हो कि पार्टीगत हिसाबले? उहाँ कै पार्टीले गोर्खाल्याण्डको विरोध गरेका थिए। उहाँ आजको मञ्चमा गोर्खाल्याण्ड माग्नु आउनु भएको हो कि के हो त्यो उहाँलाई नै सोधेको असल।” १६ जनवरी को दिन दार्जीलिङ नगरपालिकाको नयाँ बोर्ड गठन हुनेछ। त्यसपछि क्यापिटल हलको कार्यक्रम के हुनेछ भनी सोधिएको प्रश्नको जवाफमा उनले भने, “गोर्खा स्वाभिमान संघर्षको कार्यक्रम हाम्रो दलको बोर्ड गठन भए पछि पनि चल्न दिनेछौ। रात परे बत्ती दिउँला, जाडो लागे दाउरा पनि दिउँला।”










