क्यापको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए गणेश राई

IMG-20240914-WA0270

गान्तोक: गणेश कुमार राई सिक्किम सिटिजन एक्शन पार्टी, सिक्किमका नयाँ अध्यक्ष चुनिएका छन्। आज राजधानीको अदमपुलस्थित पार्टी मुख्यालयमा बसेको एउटा बैठकमा सर्वसम्मतिले यो निर्णय लिएको हो। उल्लेखनीय छ, पूर्व अध्यक्ष भरत बस्नेतले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो। पार्टीको केन्द्रीय कार्यकारी समितिको पछिल्लो बैठकमा पूर्व अध्यक्षले तीनजना उम्मेद्वारको नाम प्रस्ताव गरेका थिए जसमध्ये पूर्व अध्यक्ष एलपी काफ्ले र श्रीमती सुमती छेत्रीले आफैलाई अध्यक्ष पदको दौड़बाट टाड़ो राखेपछि गणेश राई निर्विरोध अध्यक्ष चुनिएका हुन्। उल्लेखनीय छ, गणेश राई सिटिजन एक्शन पार्टी, सिक्किमका तेस्रो अध्यक्ष हुन्। पार्टीको चुनाउ परिषदका अध्यक्ष हरिबहादुर राईले संविधानको धारा २७(डी) अन्तर्गत गणेश कुमार राई पार्टीका नयाँ अध्यक्ष चुनिएको आधिकारिक घोषणा गरे। बैठकलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष भरत बस्नेतले नवनिर्वाचित अध्यक्ष गणेश राईलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। सिक्किम र सिक्किमेको सुरक्षित भविष्यको निम्ति पार्टीले धेरै काम गर्नुपर्ने उनले बताए। यसरी नै नवनिर्वाचित अध्यक्ष राईले आफ्नो सम्बोधनमा पूर्व अध्यक्षहरू एलपी काफ्ले र भरत बस्नेतको योगदानको प्रशंसा गर्दै आभार व्यक्त गरे। उनले पार्टी साथै सिक्किम र सिक्किमेको हितमा सबैजना एकजुट भएर काम गर्नुपर्ने कुरामा जोर दिए।

About Author

Advertisement