गान्तोक: सिक्किममा क्यान्सर उपचार सुविधालाई लिएर सामाजिक सञ्जालमा विपक्षी दलबाट आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलले सरकारको धारणा स्पष्ट पार्दै स्वास्थ्य क्षेत्रमा भइरहेका पहलहरूको जानकारी दिएका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै मन्त्री ढुङ्गेलले एसटीएनएम अस्पताल परिसरभित्रको पुरानो सब्जी मण्डी क्षेत्रमा क्यान्सर केयर युनिट निर्माण भइसकेको जानकारी दिए। साथै, निकट भविष्यमा एसटीएनएम अस्पताल परिसरमै १०० शय्याको छुट्टै क्यान्सर केयर अस्पताल निर्माण गर्ने योजना अघि बढाइएको पनि उनले बताए।
मन्त्री ढुङ्गेलले १०० शय्याको मानसिक रोग अस्पतालसमेत निर्माणाधीन अवस्थामा रहेको र यसको काम सुरु भइसकेको जानकारी गराए। सिक्किमवासीलाई धैर्य राख्न आग्रह गर्दै उनले भने, “आउने दिनहरूमा यसको प्रत्यक्ष परिणाम देखिनेछ।” सरकारले आलोचनालाई नकारात्मक रूपमा नभई सकारात्मक रूपमा लिएको पनि उनले स्पष्ट पारे।
स्वास्थ्य क्षेत्रमा भएको समग्र प्रगतिबारे उल्लेख गर्दै मन्त्री ढुङ्गेलले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यभर उल्लेखनीय विकास कार्य भइरहेको बताए। उनका अनुसार हालै नाम्चीमा ५०० शय्याको अस्पताल उद्घाटन गरिएको छ भने जोरथाङमा डायलाइसिस केन्द्र स्थापना गरिएको छ। साथै, सिङ्ताम र सोरेङमा १००–१०० शय्याका अस्पतालहरू निर्माणाधीन अवस्थामा रहेका छन्।
स्वास्थ्य मन्त्रीले उत्तर सिक्किमको चुङथाङमा पनि एउटा ठूलो अस्पताल निर्माण भइरहेको जानकारी दिँदै एसटीएनएम अस्पताल देशकै उत्कृष्ट सरकारी अस्पतालहरूमध्ये एक रहेको दाबी गरे।










