खरसाङ: कोलकोतामा महिला डाक्टरमाथि भएको बलत्कार अनि हत्याको घटनालाई लिएर दार्जिलिङ जिल्ला भाजपा महिला मोर्चाको आयोजनामा खरसाङमा विरोध रैलीको आयोजना गरिएको छ। महिला डाक्टरले न्याय पाउनुपर्छ साथै दोषीलाई कड़ा कार्वाही गरिनुपर्छ भन्ने मांगमा भाजपाले खरसाङमा विरोध रैलीको साथमा खरसाङ पुलिस थानामा ज्ञापन पत्र पनि बुझाएका छन्। खरसाङको टुरिस्ट लजदेखि शुरु भएको उक्त विरोध रैली खरसाङ बजारको वर्ध्दमान रोड हुँदै मोटर स्ट्याण्डसम्म आयोजना गरिएको थियो। ‘सम्पूर्ण राज्यमा महिला हिंसा, ध्वस्त कानुन व्यवस्था, अराजकताको विरुद्ध विरोध प्रदर्शन’ लेखिएको ब्यानरको साथमा भाजपाले खरसाङमा विरोध रैली निकालेको छ। उक्त रैलीमा भाजपा पदाधिकारीहरू लगायत भाजपा दार्जिलिङ जिल्ला महिला मोर्चाको पदाधिकारीहरू उपस्थित रहेका थिए। रैलीमा ‘महिला डाक्टरले न्याय पाउनुपर्छ, महिला मुख्यमन्त्री भएको राज्यमा महिलाहरू नौ सुरक्षित नभएकोले मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ’, दोषीलाई कड़ा कार्वाही गरिनुपर्छ, महिलाहरू सुरक्षित रहनुुपर्छ’ जस्ता नाराहरू लगाइएको थियो। उक्त विरोध रैलीमा भाजपाद्वारा ‘बंगालमा कानुन, शिक्षा, स्वस्थ्य व्यवस्थाको नग्न रूप हो आरजी कर हस्पिटल काण्ड’, ‘बंगालको जनता न्याय चाहान्छन्’ जस्ता लेखिएको प्ला कार्डहरू हातमा लिएर रैलीमा सहभागी बनेका थिए। खरसाङको मोटर स्ट्याण्डमा पुगेर विरोध रैली समाप्त भएपछि भाजपा दार्जिलिङ जिल्ला महिला मोर्चाको चारजना प्रतिनिधिहरू खरसाङ पुलिस थाना पुगेर ज्ञापन पत्र चढ़ाउने कार्य सम्पन्न गरेका छन्। आजको विरोध प्रदर्शन र रैली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला महिला मोर्चाको अध्यक्ष चन्द्रकला राई गुरूङ, उपाध्यक्षा लतिका जोशी, पूर्व अध्यक्ष सिबानी दियाली र भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले कोलकोता घटनाको विरोधमा दार्जिलिङ जिल्ला भाजपाको आयोजनामा खरसाङमा विरोध रैलीको आयोजना गरेर पिढितले झट्टै न्याय पाउनु पर्ने साथै दोषीलाई कड़ा सजाय दिनु पर्ने मांग गरिएको जानकारी गराएका छन्।










