कोलकाता: कोलकातामा शुक्रबारदेखि सुरु भएको त्रिदिवसीय ‘ट्राभल एण्ड टुरिजम फेयर’ (टीटीएफ) मा सिक्किमको पर्यटन प्रवर्द्धन प्याभिलियन प्रमुख आकर्षणको केन्द्र बनेको छ। १० देखि १२ जुलाई सम्म चल्ने उक्त मेलाको पहिलो दिन नै सिक्किम पर्यटन विभागको प्रदर्शनी कक्षमा देश-विदेशका पर्यटक, ट्राभल व्यवसायी र विशिष्ट अतिथिहरूको उल्लेख्य भीड लागेको छ।
सिक्किम सरकारले आफ्नो महत्त्वाकांक्षी ‘सिक्किम इन्स्पायर्स’ परियोजना अन्तर्गत यस मेलामा मुख्य प्रवर्द्धनात्मक सहभागिता जनाएको हो। राज्यको पर्यटन उद्योगलाई प्रतिनिधित्व गर्दै मेलामा सिक्किमका ४३ वटा पर्यटन सम्बद्ध संस्थाहरू सहभागी छन्। प्रतिनिधिमण्डलमा ट्राभल एजेन्ट्स एसोसिएसन अफ सिक्किम (टास), सिक्किम युनाइटेड टुर अपरेटर्स (सुतो), सिक्किम होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन (श्रा), अल सिक्किम टुरिजम एण्ड हस्पिटालिटी एसोसिएसन (आस्था) तथा पेलिङ पर्यटन विकास समिति (पिटिडिए) आबद्ध छन्। यसका साथै नाम्ची, सोरेङ र पाकिम जिल्लाका ग्रामीण पर्यटन विकास समितिका प्रतिनिधिहरूले पनि सिक्किमको प्राकृतिक, साहसिक, सांस्कृतिक, पर्यावरण र ग्रामीण पर्यटनका विविध पक्षबारे आगन्तुकहरूलाई जानकारी गराइरहेका छन्।
विशिष्ट अतिथिहरूको अवलोकन
उद्घाटनका दिन सिक्किम प्याभिलियनमा भारतका विभिन्न राज्यका पर्यटन मन्त्री तथा विदेशी कूटनीतिज्ञहरूको विशेष उपस्थिति रह्यो। पश्चिम बंगालका पर्यटन मन्त्री शंकर घोष, उत्तराखण्डका पर्यटन तथा लोक निर्माण मन्त्री सतपाल जी महाराज र गोवाका पर्यटन एवं सूचना प्रविधि मन्त्री रोहन ए खौन्टेले सिक्किमको प्रवर्द्धन कक्षको अवलोकन गरेका थिए। त्यसैगरी, थाइल्याण्डकी महावाणिज्यदूत खुन सिरिपोर्न तान्तिपन्याथेपले पनि प्याभिलियनको अवलोकन गर्दै सिक्किमको दिगो र पर्यावरणमैत्री पर्यटन नीतिको सराहना गरिन्।
अवलोकनका क्रममा सिक्किम सरकारको ग्रामीण विकास विभागका अध्यक्ष नारायण खतिवडाले सहभागी व्यवसायीहरूलाई भेटेर राज्यको पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे।
नयाँ व्यावसायिक अवसरको खोजी
मुख्यमन्त्रीको विशेष पहलमा सिक्किमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न विभागले यस्ता मेलाहरूमा जोड दिँदै आएको छ। यस मेलाले स्थानीय उद्यमीहरूका लागि नयाँ व्यावसायिक साझेदारी (बिजिनेस नेटवर्क) निर्माण गर्न र बजार विस्तार गर्न महत्त्वपूर्ण सघाउ पुर्याउने विश्वास लिइएको छ।
मेलाको पहिलो दिन पर्यटन व्यवसायी र उपभोक्ता दुवैको सकारात्मक प्रतिक्रियाले टोली उत्साहित बनेको कोलकातास्थित सिक्किम पर्यटन सूचना केन्द्र (टिसिए) की संयुक्त निर्देशक रिना ब्रह्माले बताइन्। उनका अनुसार विभागीय अधिकारीहरूको टोलीले मेलामा सिक्किमको सफल प्रतिनिधित्वका लागि व्यवसायीहरूलाई निरन्तर समन्वय र सहयोग गरिरहेको छ।










