बेबी चक्रवर्ती
कोलकाताको मुटुमा उभिएको यो अद्वितीय वास्तुकला केवल इँटा–ढुंगाको संरचना मात्र होइन, यो समयसँगै बगेको एक मौन इतिहास हो। बी.बी.डी. बाग क्षेत्रको केन्द्रमा अवस्थित कोलकाता जनरल पोस्ट अफिस (जिपिओ) आज पनि शहरको प्रशासनिक, सामाजिक र सांस्कृतिक विकासक्रमको साक्षी बनेर उभिएको छ।
ब्रिटिश शासनकालमा सन् १७७४ मा कोलकाताले भारतको राजधानीको दर्जा पाएसँगै डाक सेवाको आवश्यकता नयाँ आयाममा प्रवेश गर्यो। सुरुमा इष्ट इन्डिया कम्पनीका प्रशासनिक पत्राचारका लागि स्थापित भए पनि, बिस्तारै यो डाकघर आम मानिसका लागि सञ्चारको प्रमुख भरोसा बन्दै गयो।
हालको जिपिओ भवनको निर्माण कार्य १८६४ मा सुरु भई १८६८ मा सम्पन्न भयो। ब्रिटिश वास्तुविद् वाल्टर बी. ग्रेनभिलको डिजाइनमा बनेको यो भवन क्लासिकल ग्रीक–रोमन वास्तुकला शैलीमा निर्मित छ। विशाल गुम्बज, अग्ला स्तम्भ र फराकिलो प्रांगण आज पनि शहरको वास्तुकलागत धरोहरको उज्यालो उदाहरण हुन्। विशेषज्ञहरूका अनुसार, लन्डनको सेन्ट पॉल्स क्याथेड्रलबाट प्रेरित यो गुम्बजले कोलकाताको आकाशरेखालाई अलग पहिचान दिएको छ।
औपनिवेशिक कालमा कोलकाता जिपिओ केवल शहरकै होइन—सम्पूर्ण एसियाकै एक प्रमुख र ठूलो डाक केन्द्र थियो। यहाँबाट बंगाल, बिहार, ओडिशा र उत्तर–पूर्व भारतका विशाल क्षेत्रहरूको डाक व्यवस्था नियन्त्रित हुन्थ्यो। व्यापार, प्रशासन र साम्राज्य विस्तारका हरेक तहमा यस डाकघरको भूमिका अपार थियो।
यस भवनका करिडोरहरू हुँदै ब्रिटिश अधिकारी, भारतीय कर्मचारी, व्यापारी, लेखक र सर्वसाधारण हिँडे। अनगिन्ती पत्रहरूले समुद्र र स्थलमार्ग पार गरे, कहिले सत्ता र आदेशका सन्देश बोकेर, त कहिले आमाको निधार छुन चाहने आतुर भावनाहरू बोकेर।
कोलकाता जिपिओ केवल शासनको औजार मात्र थिएन; यो प्रतिरोधको मौन सहयात्री पनि थियो। स्वतन्त्रता आन्दोलनका बेला धेरै क्रान्तिकारी सन्देश, सांकेतिक पत्र र गोप्य सम्पर्क यही डाक व्यवस्थामार्फत प्रवाहित भए। ब्रिटिश निगरानीका बीच पनि डाकघर अभिव्यक्तिको एक गोप्य आश्रय बन्दै गयो। धेरै पत्रहरू सायद गन्तव्यमा पुगेनन्, धेरै शब्द समयको गर्भमा हराए, तर त्यो अदृश्य इतिहास आज पनि हावामा तैरिरहेको अनुभूति हुन्छ।
१९४७ पछि, स्वतन्त्र भारतको नागरिक सेवाको हिस्सा बनेर कोलकाता जिपिओले नयाँ भूमिका ग्रहण गर्यो। पत्रसँगै मनी अर्डर, बचत योजना, पोस्टल लाइफ इन्स्योरेन्स र आधुनिक बैंकिङ सेवाहरू जोडिए। बिस्तारै डाकघर आर्थिक र सामाजिक सुरक्षाको एक भरपर्दो केन्द्रमा रूपान्तरित भयो।
डिजिटल युगमा इमेल र मोबाइल सन्देशको प्रभावले पत्र लेख्ने चलन घटे पनि, कोलकाता जिपिओ आज पनि दैनिक हजारौं मानिसको आवतजावतले गुञ्जायमान छ। यहाँ आज पनि कोही लाइनमा उभिएर अन्तिम पत्र पठाउँछ, कोही धेरै वर्षको बचत खाताको विवरण खोल्छ।
शहरको बदलिँदो स्वरूपबीच पनि कोलकाता जिपिओ अटल छ। यसको भित्तामा शताब्दीको धुलो जमेको छ, गुम्बजमा अनगिन्ती नबोलेका कथाहरू अड्किएका छन्। त्यसैले यो डाकघर केवल सञ्चारको केन्द्र होइन, यो एक जीवित इतिहास हो, जहाँ हरेक इँटाको बीचमा मानिसका कथाहरू लुकेका छन्।
जति दिन यो शहर रहनेछ, त्यति दिन यसको मुटुको एक कुनामा मौन रूपमा उभिइरहनेछ कोलकाता जनरल पोस्ट अफिस पत्रहरूको शहरको अटल ठेगाना।

समय बदलिन्छ, सञ्चारका माध्यम बदलिन्छन्, शहरको रूप पनि निरन्तर परिवर्तन हुन्छ। तर कोलकाताको काखमा उभिएको यो जनरल पोस्ट अफिसले आज पनि प्रमाणित गर्छ, केही संस्थाहरू केवल प्रणालीका हिस्सा हुँदैनन्, तिनीहरू सभ्यताका स्मृतिको भण्डार हुन्छन्। इमेल र डिजिटल सन्देशको युगमा पनि यो ऐतिहासिक डाकघर मानिसको प्रतीक्षा, विश्वास र सम्बन्धको साक्षी बनेर उभिएको छ। यसको स्तम्भमा जमेको धुलो, गुम्बजमा अड्किएको मौनता र करिडोरमा प्रतिध्वनित असंख्य पाइलाहरू मिलेर कोलकाता जिपिओ आज पनि एक जीवित इतिहास बनेको छ। मानिसको हृदयमा पत्रको न्यानोपन र स्मृतिको तान रहुन्जेल, शहरका अन्तःशिरामा मौन रूपमा बगिरहनेछ यस डाकघरको अविनाशी कथा।









