राजगञ्ज: एउटा कोइला बोकेको ट्रेलर अर्को एउटा ट्रेलरमाथि पल्टिएको खबर प्राप्त भएको छ। सडकको बेहाल अवस्थाले यो घटना घटेको हो भन्ने जनसाधारणको भनाइ छ। यो घटना गत अबेर राति सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी जोटियाकाली मोड़ संलग्न इलाकामा घटेको हो। यस घटनापछि सिलगढी- जलपाईगढी राष्ट्रिय राजमार्गमा वाहनहरू आवाजाहीमा रोक लगाइएको छ। प्राप्त जानकारी अनुसार धेरै समय अघिदेखि जोटियाकाली मोड़ संलग्न इलाकामा सड़कको अवस्था जर्जर रहेकोले यहाँ प्रायजसो दुर्घटना हुने गर्दछ। गत अबेर राति पनि जलपाईगढीतर्फबाट आइरहेको एउटा कोइला बोकेको एउटा ट्रेलर जोटियाकाली संलग्न इलाकामा अनियन्त्रित भएर अर्को एउटा ट्रेलरमाथि पल्टियो। उक्त घटनामा कसैको ज्यानलाई कुनै प्रकारको क्षति नपुऱ्याए तापनि घण्टौँसम्म उक्त सडकमा यातायात बाधित रह्यो। घटनाको जानकारी पाएर फुलबारी ट्राफिक गार्ड पुलिस घटनास्थलमा पुगे।









