कैलाश मानसरोवर यात्रा पुन: शुरू गर्ने निर्णयको सांसद सुब्बाले गरे सराहना एवं स्वागत

4343035-untitled-17-copy

गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले राज्यका जनता र विशेष गरी भक्तजन र विश्वासीहरूको तर्फबाट यसै वर्षको गर्मीमा पवित्र कैलाश मानसरोवर यात्रा पुनः शुरु गर्ने भारत सरकारको निर्णयको हार्दिक सराहना एवं समर्थन व्यक्त गरेका छन्।
भारतको विदेश सचिव विक्रम मिश्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको छलफलपछि घोषणा गरिएको यो ऐतिहासिक निर्णय भारत र चीनबीचको आध्यात्मिक, सांस्कृतिक र द्विपक्षीय सम्बन्धलाई बढावा दिने प्रतिबद्धताको प्रमाण रहेको उनले ठहर गरेका छन्।
सांसद सुब्बाले आज जारी विज्ञप्तिमा भनेका छन्, लाखौं तीर्थयात्रीहरूका लागि कैलाश मानसरोवर यात्राको गहिरो महत्त्व छ, जुन शान्ति, भक्ति र आध्यात्मिक पूर्तिको प्रतीक हो। उनले विशेष गरी पूर्व सिक्किमको नथुला पास हुँदै सम्भावित पहुँचको साथमा पुन: शुरुवात एक महत्त्वपूर्ण कदम रहेको बताएका छन्, जसले तीर्थयात्रालाई भक्तजनहरूको लागि अझ सुलभ बनाउनेछ।
सांसद सुब्बाले दुई राष्ट्रहरूले यो यात्रासँगै नथुला व्यापार मार्ग पनि पुन: खोल्ने दिशामा विचार गर्नेछन् भनी आशा व्यक्त गरेका छन्। यो कदमले तीर्थयात्रीहरूको लागि पूर्वाधारमा सुधार मात्र नभएर व्यापार अवसरहरू सिर्जना गर्ने, स्थानीय अर्थतन्त्रलाई बढावा दिने तथा भारत र चीनबीच बलियो आर्थिक सहयोगलाई पनि बढावा दिनेछ भनी उनले बताएका छन्।


लोकसभा सांसद सुब्बाले यस सकारात्मक विकासको स्वागत गर्दै यसले भारत र चीनबीच अझ बढी पारस्परिक विश्वास र समझदारीलाई बढावा दिने आशा व्यक्त गरेका छन्। उनले यस दृष्टिकोणलाई साकार रूप प्रदान गर्न काम गरिरहेका सबै सरोकारवालाहरूप्रति पनि कृतज्ञता व्यक्त गर्दै यस ऐतिहासिक प्रयासमा सिक्किमका जनताको हितको प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो समर्पित प्रयासको आश्वासन दिएका छन्।

About Author

Advertisement