गान्तोकः शनिवार ८ अप्रेलको दिन सिङ्ताममा जोइन्ट एक्सन काउन्सिलका महासचिव केशव सापकोटामाथि भएको आक्रमणको चौतर्फी निन्दा शुरु भएको छ। घटनापछि आज आइतवार विभिन्न सङ्गठनले प्रेस बयान जारी गरेर सापकोटामाथि भएको घटनाको विरोध र निन्दा जनाएका हुन्। शनिवार जर्नालिस्ट युनियन अफ् सिक्किमका अध्यक्ष भीम रावतले युनियनको पक्षबाट प्रेस विज्ञप्ति जारी गरे घटनाको निन्दा गर्दै दोषीहरूलाई कारबाही गरि पीडित पक्षलाई न्याय दिलाउन प्रशासन समक्ष माग गरेका छन्। अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सघंले केशव सापकोटामाथि भएको आक्रमणलाई प्रजातन्त्रको निम्ति घातक बताउँदै घटनाको तीव्र निन्दा गरेको छ। सङ्गठनका अध्यक्ष नारायण खतिवडाले एउटा प्रेस विज्ञप्ति जारी गरेर केशव सापकोटामाथि भएको आक्रमणले सिक्किमेला युवा पुस्तामा आक्रोस पैदा हुने स्थिति सिर्जना नहोस् भन्दै सबैलाई कानूनको सम्मान गर्न आग्रह गरेका छन्।
पूर्व नौसेना नाविक सङ्घ ले आफ्ना पूर्व सैनिक भएको हमलालाई घृणित कार्य बताउँदै घटनाको भर्त्सना जनाएको छ। सिक्किमे नागरिक समाजका पूर्व अध्यक्ष तथा सिक्किमका वरिष्ठ राजनीतिज्ञ भरत बस्नेतले सिङ्तामको घटना सम्बन्धमा पत्राचार गरेर राज्यपालको ध्यानाकार्षण गराएका छन्। उनले रज्यपालालाई लेखेको पत्रमा केशव सापकोटामाथि हमला गर्ने षडयन्त्रकारीलाई कानून अनुरुप कारबाही गराएर आफ्नो आफ्नो अधिकारलाई साबित गर्न राज्यपाललाई आग्रह गरेका छन्। सिक्किममा कानून व्यवस्था पूर्ण रूपले डगमगाएको छ भन्दै यसमाथि समयमा कारबाही नभए निकट भविष्यमा विपरित परिणाम आउनसक्ने भरत बस्नेतको ठहर छ। उनले यस बाहेक अन्य सङ्गठन व्यक्ति विशेषले पनि केशव सापकोटामाथि भएको आक्रमणको घोर निन्दा गर्दै दोषीलाई कठोर कारबाही गरिनुपर्ने माग उठाइरहेका छन्।









