दशैंमा पनि अनशनमा बस्ने श्रमिकहरू
खरसाङ: खरसाङको लङभ्यू चियाबारीमा मालिक पक्षले केवल १० प्रतिशत बोनस दिएपछि चियाबारी श्रमिकहरू विगत चार दिनदेखि लगातार अनशनमा बसेका छन्। श्रमिकहरूको अनशनको आज चौथो दिन हो। भोलि दशैंको टिका हो तर पनि चियाबारी श्रमिकहरू लगातार अनशनमा बसिरहेका छन्। बीस प्रतिशत बोनसको मांगमा आन्दोलन जारी रहे पनि सरकार र मालिक पक्षले १६ प्रतिशतमा एडभाईजरी जारी गरे पनि लङभ्यू चिया बगानका श्रमिकहरूलाई भने केवल १० प्रतिशत बोनस मात्र दिएको कारणले श्रमिकहरू रिले अनशनमा बसेका छन्। आज उक्त अनशनले चौथो दिन पुगेको छ। आज पनि १३ जना चिया श्रमिकहरू अनशनमा छन्। हालसम्म कम्पनीले केवल १०% बोनस मात्र हालिदिएको छ। सरकारी एडवाइजरी अनुसार १६% दिँदै गर्नु पर्ने हो। तर लङभ्यूमा त्यस्तो भएन। श्रमिकहरू दशैंमा पनि लगातार रूपमा अनशनमा बस्ने भएका छन्। यस विषयमा श्रमिक प्रतिनिधि सङ्गीता छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै कम्पनीले लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई केवल दश प्रतिशत बोनस मात्र हालिदिएको छ तर मालिक पक्ष सरकारमाझ सम्झौता भएर १६ प्रतिशत बोनस दिनुपर्छ भनेर एडभाईजरी जारी गरेको थियो। तर केवल १० प्रतिशत बोनस मात्र दिएको कारणले श्रमिकहरू विगत चार दिनदेखि अनशनमा बसिरहेका छन् भनी बताइन्। उनले हुन त बीस प्रतिशत बोनसको लागि आन्दोलन जारी छ अनि ६ नोभेम्बरमा सभा हुनेछ। तर सरकार र मालिक पक्षबीच भएको एडभाईजरी अनुसार १६ प्रतिशत बोनस दिनु पर्ने भनिए पनि केवल १० प्रतिशत मात्र बोनस दिएको यलै नै श्रमिकहरू दशैंमा पनि अनशनमा बसेका छन् भनी जानकारी गराएकी छन्। त्यसरी नै लक्ष्मी छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै जबसम्म न्याय पाउँदैन तबसम्म अनशन जारी रहने र दशैंमा पनि अनशन जारी रहने बताएकी छन्। उनले लङ्भ्यु चियाबारीको प्रबन्धक गायब हुनुमा षड्यन्त्र छ भन्दै हाम्रो ६ प्रतिशत बोनस कसले खायो भनी प्रश्न गरेकी छन्। उनले बीस प्रतिशत बोनसको मांगमा आन्दोलन जारी छ तर एडभाईजरी अनुसार दिनु पर्ने सोह्र प्रतिशत बोनसमा केवल १० प्रतिशत मात्र पाएकोले ६ प्रतिशत बोनस दबिएको बताएकी छन्। यसै क्रममा श्रमिक प्रतिनिधि अनुपा तामाङले पनि पत्रकारहरूलाई सम्बोधन गर्दै लङ्भ्यु चियाबारीको श्रमिकहरू आफ्नो हक र अधिकारको लागि अनशनमा बसेका छन् र अनशनमा बस्नु आफ्नो इच्छा र रहरले होइन तर आफ्नो हक र अधिकारको लागि हो भनी बताएकी छन्। तामाङले भनिन् ‘”सरकार पक्ष र मालिक पक्षले हेलचेक्राई गरिरहेको छ र कर परेर श्रमिकहरू अनशनमा बसेका छन्। क्षेत्रीय सरकार चलाउनेहरूले पनि बुझ्नुपर्ने तर श्रमिकहरू चार दिन भयो अनशनमा बसेको तर कोही पनि आएको छैन अनि कोही पनि बोलिदिएको छैन।”










