सोरेङ: भारत सरकारका जनजातीय मामिला राज्यमन्त्री दुर्गादास उइकेले आज सोरेङ जिल्लामा आयोजित एक महत्वपूर्ण बैठकमा सहभागिता जनाउँदै विभिन्न विकास योजनाहरूको समीक्षा गरे। कार्यक्रममा मन्त्री उइकेले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दुरदर्शिता र जनजातीय समुदायप्रति समर्पित पहलको प्रशंसा गर्दै यस्ता पहलहरूले भारतको समग्र विकासमा उल्लेखनीय योगदान दिएको उल्लेख गरे। उनले स्वास्थ्य तथा सामाजिक कल्याण, सार्वजनिक निर्माण, कृषि, शिक्षा, खाद्यान्न आपूर्ति, महिला स्वयं सहायता समूह, आँगनवाडी सेवाहरू लगायत विभिन्न विभागहरूसँग केन्द्र सरकारका योजनाहरूको कार्यान्वयन अवस्थाबारे जानकारी लिँदै त्यसमाथि सुझावहरू पनि दिए। राज्यमन्त्रीले सबै विभागलाई सशक्त जनचेतना अभिवृद्धि कार्यक्रमहरू संचालन गर्न आग्रह गर्दै जनतासम्म सरकारी योजनाहरूको जानकारी पुगोस् भन्ने उद्देश्यमाथि काम गर्नुपर्ने बताए। स्वयं सहायता समूह, आँगनाबाडी कार्यकर्ताहरुको योगदानको प्रशंसा गर्दै उनले केन्द्र सरकारबाट निरन्तर सहयोग रहने आश्वासन पनि दिए। यसअघि, जिल्लापाल धिरज सुवेदीले सोरेङ जिल्लामा सञ्चालित योजनाहरू, आकांक्षी जिल्ला कार्यक्रम, क्षेत्रीय पूर्वाधार विकास, शिक्षा तथा स्वच्छता प्रवर्द्धनका परियोजनाहरूको विस्तृत प्रस्तुति दिए। विशेषगरी ‘स्वस्थ हामी’, ‘स्वच्छ पानी’ जस्ता पहलहरुबारे चर्चा गरियो। बैठकमा जिल्ला पंचायत अध्यक्ष तिलादेवी गुरुङ, विभिन्न विभाग प्रमुखहरू, पंचायत सदस्यहरू, स्वयं सहायता समूहका प्रतिनिधिहरु तथा आँगनवाडी प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सोरेङ जिल्ला प्रशासनद्वारा राज्यमन्त्रीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।









