केन्द्रीय योजनाहरूलाई लिएर सिक्किम भाजपा गाउँ-गाउँमा

IMG-20250324-WA0286

गान्तोक: केन्द्र सरकारका जनकल्याणकारी योजनाहरूको लाभ सिक्किमे जनतामाझ पुऱ्याउने प्रतिबद्धतालाई कार्यरूपमा उतार्दै भारतीय जनता पार्टी, सिक्किमले अहिले राज्यका विभिन्न स्थानहरूमा आयुष्मान भारत पञ्जीकरण एवं कार्ड वितरण शिविरहरूको आयोजना गरिरहेको छ। यसै क्रममा हिजो तुमिन लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत डिक्चुमा ७० वर्षमाथिका वृद्ध-वृद्धाहरूको निम्ति आयोजन गरेको कार्ड वितरण शिविरमा स्थानीय लाभार्थीहरूले लाभ उठाए। प्रदेश अध्यक्ष डीआर थापाको निर्देशन अनि क्षेत्रका गत चुनाउमा पार्टीका उम्मेद्वार एवं प्रवक्ता पासाङ ग्याली शेर्पा साथै अन्य शीर्ष नेताहरूको उपस्थिति र स्थानीय पञ्चायत बीबी गुरुङको पहलमा सम्पन्न उक्त शिविरलाई सफल बनाउन पार्टी आईटी सेलका कार्यकारी सदस्य केशव शर्मा र समीर बस्नेतले सहयोग पुऱ्याएका थिए।
शिविरमा लाभार्थीहरूको अनलाइन पञ्जीकरण, स्वीकृति साथै कार्ड जेनेरेट गरेर कार्यक्रमस्थलमै प्रिण्ट तथा लेमिनेशन गरी लाभार्थीलाई तत्काल प्रदान गर्ने व्यवस्था गरिएको थियो। शिविरबाट स्थानीय ९० भन्दा अधिक वृद्ध-वृ्द्धा तथा बीपीएल परिवारले लाभ उठाएका। बिहान १० बजीदेखि शुरू भएको उक्त शिविर साँझ ६ बजी समापन भएको थियो।


कार्यक्रममा औपचारिक स्वागत गर्दै जिल्ला महामन्त्री पीके नेउपानेले यस शिविरको औचित्यबारे प्रकाश पारेका थिए। यसै गरी पार्टी प्रवक्ता पासाङ ग्याली शेर्पाले आफ्नो सम्बोधनमा आयुष्मान कार्डको महत्व अनि उपयोगितामाथि प्रकाश पार्दै राज्यमा कूल १९ वटा अस्पताल अनि देशभरिमा २९ हजारभन्दा अधिक अस्पतालहरू यस योजना अन्तर्गत सूचीबद्ध रहेको जानकारी गराए। लाभार्थीहरूले कुनै पनि सूचीबद्ध अस्पतालहरूमा भर्ना भएपछि यो कार्ड उपयोगी हुने उनले जानकारी दिए। शेर्पाले उपस्थित सबैलाई आ-आफना गाउँ-छिमेकमा रहेका ७० वर्षमाथिका योग्य लाभार्थीहरूसम्म यसको सन्देश पुऱ्याइदिने आह्वान गरेका छन्। भाजपा सिक्किमको यस कल्याणकारी पहलको स्थानीयवासीले खुलेर प्रशंसा गरेका पार्टीले प्रेस विज्ञप्ती जारी गरेर बताएको छ। उल्लेख्य, भाजपा सिक्किमले अहिले राज्यव्यापी रूपमा आयुष्मान भारत अभियान सञ्चालन गरिरहेको छ जसमा अहिलेसम्म कूल ४१५० वृद्ध-वृद्धाहरूले आयुष्मान कार्ड प्राप्त गरिसकेका छन्। पार्टीले आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी ढंगमा राज्यभरि नै अघि बढ़ाउने लक्ष्य राखेको छ।

About Author

Advertisement