नयाँ दिल्ली: भारतका स्टार ब्याडमिण्टन खेलाड़ी लक्ष्य सेनले असाधारण लयलाई जारी राख्दै जापानमा भएको कुमामोतो जापान मास्टर्स सुपर ५०० टुर्नामेण्टमा पुरुष एकलको खिताब जिते। आइतवार खेलिएको पुरुष एकलको फाइनलमा आठौं वरीयता प्राप्त लक्ष्यले जापानका कोकी वातानाबेलाई ३ सेटको रोमाञ्चक लड़ाइँमा १३-२१, २१-१८, २१-१४-ले पराजित गरे। लक्ष्यले १ घण्टा ४ मिनटसम्म चलेको रोमाञ्चक फाइनलमा पहिलो गेम गुमाएपछि असाधारण पुनरागमन गर्दै जीत हासिल गरे। यसको साथै उनले लगातार दोस्रो बीडब्ल्यूएफ वर्ल्ड टूर सुपर ५०० खिताब जिते। यसअघि उनले जर्मनीमा हाइलो ओपनको खिताब जितेका थिए। घरेलु दर्शकहरू अघि खेलिरहेका वातानाबेले म्याचमा असल शुरुवात गरे अनि शुरुदेखि नै बढ़त हासिल गरी पहिलो गेम २१-१३-ले जिते। पहिलो गेम गुमाएपछि लक्ष्यले असाधारण पुनरामन गरे। म्याचको दोस्रो गेम रोमाञ्चक रह्यो, जसमा भारतीय खेलाड़ीले गजबको संयम देखाउँदै जापानका प्रतिद्वन्द्वीलाई दबाउमा राखे। यसरी उनले दोस्रो गेम २१-१८-ले जितेर म्याचलाई १-१-को बराबरीमा पुऱ्याए। म्याचको तेस्रो तथा निर्णायक गेममा चाहिँ लक्ष्यले वातानाबेलाई अधिक मौका दिएनन्। गेमको शुरुदेखि नै बढ़तलाई कायम राखेर लक्ष्यले लगातार अंक बटुले। यसरी उनले २१-१४-ले निर्णायक गेमको साथमा खिताब आफ्नो नाम गरे। यस जीतको साथ लक्ष्यले यस साल सिंगापुर ओपन र जापान ओपनमा वातानाबेविरुद्ध हारको हिसाब पनि चुक्ता गरे। यी दुई खेलाड़ीबीच अहिलेसम्म ८ पल्ट भिड़न्त भएको छ, जसमा लक्ष्यले ५ वटा म्याच जितेका छन्। आइतवार वातानाबेविरुद्ध जीतको साथ लक्ष्य कुमामोतो मास्टर्सको खिताब जित्ने पहिलो भारतीय ब्याडमिण्टन खेलाड़ी पनि बने। यस टुर्नामेण्टको शुरुवात २०२३-मा भएको थियो। लक्ष्यले खिताबी जीतसम्मको गोरेटोमा लगातार ५ वटा म्याच जिते। सेमिफाइनलमा उनलाई इण्डोनेशियाका अल्वी फरहानले कड़ा चुनौती दिएका थिए तर भारतीय शट्लरले अन्तमा २१-१२, १५-२१, २१-११-ले म्याच जितेका थिए। कुमामोतो जापान मास्टर्समा खिताब जितेपछि लक्ष्यलाई बीडब्ल्यूएफ वर्ल्ड टूर ऱ्याङकिंगमा ९,२०० अंक हासिल भयो। टुर्नामेण्टको अघिसम्म उनी ६४,९८० अंकको साथ १२औं स्थानमा थिए। यसपाली जापानमा च्याम्पियन बनेपछि लक्ष्यको सालको अन्तमा हुने बीडब्ल्यूएफ वर्ल्ड टूर फाइनल्स २०२६-को निम्ति शीर्ष ८-मा स्थान बनाउने सम्भावनाहरू मजबूत भएको छ।





