रायपुर: भारतले न्यूजील्याण्डलाई शुक्रवार खेलिएको दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा ७ विकेटले सजिलैसँग पराजित गऱ्यो। यस जीतको साथ भारतले ५ वटा म्याचको सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो। शहीद वीर नारायण इण्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको विशाल स्कोर बनायो। जवाफमा भारतले १५.२ ओभरमा ३ विकेटमा २०९ रन बनाएर सजिलै म्याच जित्यो। विशाल लक्ष्यलाई पीछा गर्दै भारतले आज दुवै ओपनरलाई ६ रनमा गुमायो। यसमा सञ्जु सेमसनले ६ रन बनाए भने अभिषेक शर्माले खाता पनि खोलेनन्। शुरुवाती झट्कापछि भारतीय ईनिंग्सलाई ईशान किशन र कप्तान सूर्यकुमार यादवले सम्हाले। यी दुईजनाले तेस्रो विकेटको निम्ति १२२ रनको म्याच जिताउने पार्टनरशीप गरे। किशनले ११ वटा चौका र ४ वटा छक्काको साथ ३२ बलमा ७६ रन बनाए। किशन आउट भएपछि सूर्यकुमारले शिवम दुबेबाट असल साथ पाए। यी दुईजनाले चौथो विकेटको निम्ति ३७ बलमा ८१ रनको अटूट पार्टनरशीप गरी भारतलाई जीत दिलाए। सूर्यकुमारले ९ वटा चौका र ४ वटा छक्काको साथ ३७ बलमा अविजित ८२ रन बनाए। यसरी दुबेले ३ वटा छक्का र एउटा चौकाको साथ १८ बलमा अविजित ३६ रन बनाए।
यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डको तर्फबाट कप्तान मिचेल सेण्टनरले अविजित ४७ र रचिन रविन्द्रले ४४ रन बनाए। डेवोन कन्वे (९ बलमा १९ रन) र टिम साइफर्ट (१३ बलमा २४ रन)-ले तेज शुरुवात दिलाएपछि रचिन र सेण्टनरले न्यूजील्याण्डलाई मजबूत स्कोरसम्म पुऱ्याए। रचिनले ४ वटा छक्का र २ वटा चौकाको साथ २६ बलमा ४४ रन बनाए। यसरी सेण्टनरले ६ वटा चौका र एउटा छक्काको साथ २७ बलमा अवविजित ४७ रन बनाए। यी दुईजना बाहेक ग्लेन फिलिप्सले १९, डेरिल मिचेलले १८, मार्क चापम्यानले १० र जेम्स फोक्सले अविजित १५ रन बनाए। भारतीय बलरहरूमा कुलदीप यादवले सर्वाधिक २ विकेट लिए।










