सोनादा: किराँती खम्बु राई समुदायको गौरवशाली परम्परा, पहिचान र सांस्कृतिक मूल्यलाई आत्मसात गर्दै किराँती खम्बु राई सांस्कृतिक संस्थान, सोनादा शाखाद्वारा आयोजित वार्षिक सभा अत्यन्तै गरिमामय र भावनात्मक वातावरणमा सम्पन्न भयो। यस विशेष अवसरमा संस्थानले नयाँ सदस्यहरूलाई परम्परागत विधि अनुसार हार्दिक स्वागत तथा सम्मान प्रकट गरेको छ। यस कार्यक्रममा शंकर थुलुङ, मिलन राई, शनबहादुर राई तथा मोहन राईलाई संस्थानको परिवारमा औपचारिक रूपमा स्वागत गरियो। किराँती राई संस्कृतिमा अतिथि तथा नयाँ सदस्यलाई “ब्याक्तिबुङ” अर्पण गरी सम्मान गर्ने प्रचलनलाई निरन्तरता दिँदै, उनीहरूलाई पनि सोही परम्परा अनुसार मायाको चिनो अर्पण गरिएको थियो। यो केवल स्वागतको संकेत मात्र नभई, आत्मीयता, एकता र सांस्कृतिक उत्तरदायित्वको प्रतीक हो।
कार्यक्रममा संस्थानका अध्यक्ष शुरेन राई, सचिव अजय राई तथा सक्रिय सदस्य रुपेश राईको विशेष उपस्थिति रहेको थियो। उनीहरूको हातबाट गरिएको ब्याक्तिबुङ अर्पणले नयाँ सदस्यहरूलाई संस्थानप्रति अझै नजिक ल्याउने र जिम्मेवारीको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।किराँती राई परम्परामा “ब्याक्तिबुङ” केवल वस्तु होइन, यो सम्मान, शुभकामना र सहअस्तित्वको भावनाले भरिएको एक सांस्कृतिक चिन्ह हो। यसै भावनालाई आत्मसात गर्दै आज स्वागत गरिएका नयाँ सदस्यहरूलाई संस्थानले उज्ज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। अन्त्यमा यस पावन अवसरमा सबै नयाँ सदस्यहरूलाई संस्थानप्रति समर्पित भई समाज, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न हार्दिक आह्वान गरिएको छ।










