काशीमा साहित्यकर्तृ मणिकुन्तलालाई अभिनन्दन

Manikuntala

वाराणसी: असमिया भाषाकी कवयित्री तथा आख्यानकर्तृ श्रीमती मणिकुन्तला भट्टाचार्यलाई हिजो काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा स्वागत र अभिनन्दन ज्ञापन गरे। यस मैत्रीमिलनमा भाषण, अभिभाषण र सम्बोधन राखिएको थिएन तर शिक्षक र शोधार्थीहरूसित स्रष्टाको सम्भाषण राखिएको थियो। सम्भाषणक्रममा आफूलाई लेखनलती ठान्ने मणिकुन्तलले कवितामा आफू एकालापी हुने स्वीकार गर्दै आफ्नो जीवनबोध पाठकसँग साझा गर्न आख्यान लेखन सहज माध्यम भएको जनाइन्। आत्मस्वीकृति व्यक्त गर्दै मित्र-सम्मिलन वा भोज-भतेर वा यात्रा वा दैनन्दिनका प्रत्येक घटनाले लेखनका लागि विषयवस्तु, पात्रपात्रा, शैली दिइरहने कुरा जनाउँदै कथामा उफ्रिँदै हिँड्ने मण्डुकविधि लिनुपर्ने हुनाले हतार पर्ने तर सललल विस्तार-विवरणसहित अघि बढ्नपाइने उपन्यासमा कमिलाको पिपिलीविधि लिनपाइने कुरा व्यक्त गरिन्। अन्तर्सञ्जालमा विविध कुरा पढ्नपाइने सुविधा वा ईबुक सुविधा भए तापनि नत्थी गरिएको पुस्तक पढ्नमा बेग्लै रमाइलो हुने कुरा जनाइन्। 

मराठीका प्रो. प्रमोद भगवान् पडवल, तमिलका डा. जगदीशन टी र डा. विघ्नेश अनन्त एस, रसायनशास्त्रका डा विजय दास, पर्यावरणशास्त्रकी डा. अनुसूया शर्मा शिटौला र धेरै शोधार्थीहरूको भेलामा मणिकुन्तला सपुत्री संलग्न भएकी थिइन्। ‘वर्द्धवानी’ अडियो बुक, जलकन्या, मुक्ति, देवबाला, अरुन्धति आदि आख्यानसहित २००२-देखि अहिलेसम्म मणिकुन्तला भट्टाचार्यका ४६ ग्रन्थ प्रकाशमा आइसकेका छन्। भारतीय भाषा विभागका प्रो दिवाकर प्रधानले असमबाट आएकी मणिकुन्तला लेखनकी एकान्त साध्वी भनी उल्लेख गरे। 

About Author

Advertisement