कालीझोड़ामा भारतीय जनता पार्टीको सभा अनि कमिटी गठन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ लाठपञ्चार समष्टिको कालिझोडा़ बजारमा भारतीय जनता पार्टीको एउटा सभा गणेश छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टीको सांगठनिक गतिविधि, आगामी दिनको कार्यक्रमहरू, पहाड़को वर्तमान राजनीतिक अवस्थाको बारेमा चर्चा भयो। चर्चामा वक्ताहरूले पार्टीलाई बलियो बनाउन संगठनलाई हर स्तरमा विस्तार गर्दै जानु पर्ने बताए। वक्ताहरूले भाजपाले नै गोर्खाहरूको राजनीतिक समस्या समाधान गर्नेछु बताउदै केन्द्र सरकारले यही २०२३ भित्रमा गोर्खा अनि पहाडको निम्ति ठोस कार्य गर्नु पर्ने बताए। चर्चापछि सभामा भाजपा कालीझोड़ा कमिटी गठन गरियो। नवगठित कमिटीमा अध्यक्ष सैलु गुरूङ, उपाध्यक्ष अजित प्रधान, महासचिव राज कुमार राई, सचिव रञ्जित सुन्दास, प्रणय विश्वकर्मा, कोषाध्यक्ष नन्दलाल सिटौला, अर्पण मुखिया अनि १५ जना कार्यकारिणी सदस्याहरू चयन गरियो। सभामा भाजपा दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, सिटोङ लाठपञ्चार प्रभारी सञ्जय थापा, जिल्ला समिति सदस्य केडी खवास, श्याम बस्नेत, मण्डल महासचिव नगेन्द्र छेत्री अनि जितेन छेत्री उपस्थित रहेका थिए। सभामा कालीझोड़ा अनि वरिपरि क्षेत्रका १५० जति सदस्यहरू उपस्थित थिए। भाजपाले यस प्रकार आफ्नो सांगठनिक शक्ति लाई बलियो बनाउन निरन्तर काम गरिरहेको छ भनी सोनाम लामाले खरसाङमा जानकारी दिएका छन्।

About Author

Advertisement