जलपाइगढी: कालियागञ्जमा डली बर्मनमाथि भएको बलात्कार र हत्याको सीबीआई जाँचको माग गर्दै कामतापुर स्टेट डिमाण्ड फोरमले विभिन्न जिल्लामा सडक आन्दोलन सुरु गरेको छ। बुधबार फोरमले जलपाइगढी शहरमा एक विशाल जुलूस निकाले र जलपाइगढी जिल्ला मेजिस्ट्रेटको कार्यालय अगाडि भेला भए। कामतापुर पिपल्स पार्टी र प्रोग्रेसिव पार्टीको संयुक्त मञ्च कामतापुर स्टेट डिमाण्ड फोरमले दोषीलाई कडा कारबाही गर्न सिबिआई जाँचको माग गरेको छ। उनीहरूको आरोप छ, उत्तर बंगालमा महिलाहरू सुरक्षित छैनन्, विरोध गरे पुलिसको गोली खानु पर्छ। यसै कारणले राजवंशी नाबालिकाको बलात्कारपछि हत्या र पुलिसको गोलीबाट एक युवकको मृत्युको विरोधमा कालियागञ्जमा यो आन्दोलन गरिएको हो। कालियागञ्ज घटनाको दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलनकारीले जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। विरोध प्रदर्शनमा सहभागी जलपाइगढी जिल्ला समितिका सचिव विश्वनाथ रायले सम्पूर्ण उत्तर बङ्गालका आमा-बहिनीहरू सुरक्षित नभएको बताए। जसका कारण एकपछि अर्को यस्ता जघन्य घटना भइरहेका छन्। उनले भने, पुलिस प्रशासन पूर्णरुपमा असफल छ। मृत्युञ्जय बर्मन जस्ता युवा यस्ता घटनाको विरोध गर्न जाँदा पुलिसको गोली खानुपर्ने हुन्छ।









