नयाँ दिल्ली: संसद्को ‘कार्मिक, जनगुनासो, कानुन तथा न्यायसम्बन्धी संसदीय स्थायी समिति’ले दिल्लीको तिहाड कारागार र उत्तर प्रदेशको डासना जेल परिसरको स्थलगत भ्रमण गरेको छ। कारागार प्रशासन, कानुनी सहायता सेवा र कैदीबन्दीहरूको पुनर्स्थापनाका लागि चालिएका कदमहरूको समीक्षा गर्न उक्त भ्रमण गरिएको हो।
भ्रमणका क्रममा समितिका सदस्य एवं पूर्व विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले सामाजिक सञ्जाल फेसबुकमार्फत यो भ्रमण न्याय प्रणालीलाई थप मजबुत बनाउन महत्त्वपूर्ण रहेको जानकारी दिनुभएको छ।
संसदीय टोलीले भ्रमणका क्रममा कारागार अधिकारीहरू, राष्ट्रिय कानुनी सेवा प्राधिकरण, राज्य कानुनी सेवा प्राधिकरण, कानुनी सहायता रक्षा काउन्सिल, कारागार कानुनी स्वयंसेवक र कैदीबन्दीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेको थियो।
यस अन्तरक्रियाले न्यायमा आम नागरिकको पहुँचलाई सुदृढ बनाउन हालसम्म भएका प्रगति र आगामी दिनमा गर्नुपर्ने सुधारहरूका बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गरेको श्री श्रृङ्गलाले उल्लेख गर्नुभएको छ।
”एउटा असल समाज बलियो कानुनले मात्र नभई प्रत्येक व्यक्तिले कानुनी सहायता, आत्मसम्मान र पुनर्स्थापनाको अवसर पाउने कुरा सुनिश्चित गरेर मात्र निर्माण हुन्छ। हाम्रा सुधार गृह र कानुनी सहायता प्रणालीलाई थप मजबुत बनाउनु नै बढी मानवीय, जवाफदेही र समावेशी न्याय प्रणाली निर्माणका लागि आवश्यक छ,” उनले फेसबुकमा लेख्नुभएको छन्।
यस भ्रमणले भारतको कारागार प्रशासनलाई आधुनिक र सुधारात्मक दिशामा लैजान तथा विपन्न कैदीबन्दीहरूका लागि कानुनी पहुँच अझ सरल बनाउन नीतिगत तहमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।









