पहाडमा भएको उपलब्धिहरु केवल कंग्रेसको पालोमा मात्रै भएको छ: डा. मुनिष तामाङ
खरसाङ: यसपालीको विधानसभा चुनावमा कांग्रेस पार्टीले पहाडको तीनवटा विधानसभा आसनमा नै उम्मेद्वारहरु दिएका छन्। कंग्रेस पार्टीले दार्जिलिङबाट एमडी राई, खरसाङबाट सरोजकुमार खत्री र कालेबुङबाट सन्तकुमार प्रधानलाई चुनावी मैदानमा उतारेका छन्। यस विषयमा आज खरसाङमा कंग्रेस पार्टीको चुनावी सभा सम्पन्न भएको छ। उक्त सभामा विशेष गरी कांग्रेस पार्टीको पश्चिम बंगाल राज्य उप सभापति डा मुनिष तामाङ उपस्थित रहेका थिए। सभामा कांग्रेस पार्टीको दार्जिलिङ जिल्लाको कार्यकारी सभापति एवं खरसाङका उम्मेद्वार सरोजकुमार खत्री, जिल्ला सचिव बानीबिलास सिंह, खरसाङको सभापति उदय पोर्तेल, उप सभापति जेस्सी तामाङ, कोषाध्यक्ष आयुष गुप्ता, मिरिकका सभापति पप्पु प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। पार्टीको सभापछि खरसाङमा पत्रकारहरुसित कुराकानी गर्दै कंग्रेस पार्टीको पश्चिम बंगाल राज्यको उप सभापति डा मुनिष तामाङले यसपालीको विधानसभा चुनावमा पहाडको तीनवटै आसनमा कंग्रेसले कुनै पनि राजनैतिक पार्टीसित गठबन्धन नगरी चुनाव लडिरहेको बताए। उनले राज्यको २९४ वटा सिटहरुमा नै उम्मेद्वारहरु उठाएको जानकारी दिएका छन्। डा. मुनिष तामाङले सम्पूर्ण बंगाल र पहाडमा केवल दुईवटा राजनीतिक पार्टीहरु मात्रै हाबी भएको र जनताले दुवै पार्टीको विकल्प खोजिरहेको छ भनी बताएका छन्। उनले भने, पहाडमा भाजपा र तृणमूल कांग्रेस दुवै पार्टी छन् र दुवैबाट यहाँको मानिसहरुले केवल दुई:ख पाएका छन्। यहाँको मुद्दाहरु छिन्न भिन्न भएका छन्।’
उनले भाजपामाथि आरोप लगाउँदै भने, भाजपाले पहाडमा केवल झुटको राजनीति गरेको छ। पहाडमा पनि आफ्नो साम्प्रदायिक राजनीति गरेको हामी देख्छौँ। अर्कोतिर तृणमूल कांग्रेसले प्रशासनिक रुपमा केवल भष्ट्राचार रहेको छ। यी दुवै पार्टीको विकल्पको रूपमा जनताको रुपमा हामीले कंग्रेस पार्टी लिएर आएका छौँ। किनभने कंग्रेस पार्टीको पालोमा नै पहाडमा राजनैतिक उपलब्धि, सामाजिक उपलब्धि भएको छ। पहाडमा भएको सबै उपलब्धिहरु केवल कंग्रेसको पालोमा मात्रै भएको छ।’
पत्रकार सम्मेलनमा खरसाङ विधानसभा समष्टिको लागि कंग्रेसको उम्मेद्वार सरोजकुमार खत्रीले पनि सम्बोधन गरेका थिए।











