कालचिनी। दिलीप पाल हत्याकाण्डमा जड़ित दुईजना अपराधी गङ्गुटिया चियाबारी निवासी भरत उर्फ़ काले छेत्री र मेचपाड़ा ८ नम्बर निवासी कुशल छेत्रीलाई पुलिसले धेरै सन्देहास्पद तथ्यहरूको आधारमा समाउन सफल भएपछि दुवै आरोपीले दिलीप पाल हत्याकाण्ड कसरी गरिएको थियो त्यसको सम्पूर्ण बयान पुलिस समक्ष दिएको छ। अलिपुरद्वार एसपी वाई रघुवंशीको निर्देशमा आज जयगाउँ एएसपी कुन्तल ब्यानर्जीले कालचिनी थाना प्रभारी टीएन लामालाई साथमा लिएर हेमिल्टनगञ्जका बालुवा व्यावसायी दिलीप पालको हत्याको विवरण प्रेसवार्ता मार्फत दिएका छन। पुलिसद्वारा जारी वार्ताको आधारमा दिलीप पालको हत्या यसप्रकारले भएको थियो – त्यो दिन थियो अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १ मई दिवस। दिन आईताबार परेको थियो समय करीब ०९.४५ देखि १० बजीको। त्यसदिन दिलीप पाल आफ्नो साइकलमा सवार भएर राईमाटाङ हुँदै चिञ्चुला चियाबारीतर्फ गएको थियो।हेमिल्टनगञ्ज नेताजी सुभाषपल्ली निवासी बालुवा व्यावसायी दिलीप पाललाई थाह थिएन त्यो दिन तिनको अन्तिम दिन थियो भनेर। यसबीच राईमाटाङ फ्याक्ट्री गोदाम पार गरेर चिञ्चुलातर्फ जाने पीएमजीएसवाई सड़क राईमाटाङ चियाबारीको ७ नम्बर सेक्सन नजीक दिलीप पाललाई कुरेर बसिरहेको कुशल छेत्रीले पहिला बाटोमा रोकेर खैनी मागेर कुरामा भूल्याउँछन। ठीक त्यही समय मोटरबाइकमा सवार भएर आएको भरत उर्फ़ काले छेत्रीले मासु काटने धारिलो पाताङ आकारको छुरीले दिलीप पाललाई टाउको प्रहार गरेर ढाल्छन्। फेरि दुवै मिलेर धारिलो हतियारले प्रहार गरेर भाग्ने क्रममा भरत उर्फ़ काले छेत्री बाइक लिएर गङ्गुटियातर्फ र कुशल छेत्री साइकलमा सवार भएर राईमाटाङ भाटपाड़ाको बाटो भएर ८ नम्बर तिर लाग्छन।
एकैक्षणमा त्यो बाटो भएर हिँड़ने मान्छेहरुले बाटोमा रगतपच्छे मृतदेहलाई देख्दा हल्लाखल्ला मच्चिन थाल्छ र घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर दिलीप पालको मृतदेहलाई उद्धार गरेर लान्छन।
उक्त घटनाले कालचिनी क्षेत्रमा सनसनी मच्चिन्छ तर यता पुलिसमाथि लगातार दवाब बढ़िरहन्छ।
यत्रो दिन बितेर जाँदा पनि हत्यारा पक्रन नसकेको मानिसहरू कुरा काट्छन।
तर यता पुलिसले आफ्नो तरीकाले हत्यारा समाउन छानबीन चलाईरहेको हुन्छ। तर भनिन्छ, कानुनको हात धेरै लामो हुन्छ। समय लाग्छ तर पुलिस र कानुनबाट अपराधीहरू धेरै दिन बाँचेर हिँड़न सक्तैनन। अन्ततः ठीक घटनाको ४६ दिनको अन्तरालमा कालचिनी थानाको पुलिसबलले सुँईको पाउँछ; सो हत्या मामिलामा मेचपाड़ा ८ नम्बर निवासी कुशल छेत्रीको नाम पाउँछ र सोझै अबेर नगरी पुलिसले कुशल छेत्रीलाई पक्राउ गरेर सोधखोज गर्दा मूल आरोपी भरत उर्फ़ काले छेत्रीलाई पनि समाउन सफल हुन्छ। यता पुलिसले बल्ल यो हत्या रहश्यलाई सुल्झाउन सफल भएको बताउँदै तीन ट्र्याक्टर बालुवाको रकम प्रायः ३० हजार तिर्न नसक्दा भरत उर्फ़ काले छेत्रीले कुशल छेत्रीलाई दिलीप पालको हत्या गर्ने योजना बनाएको र सो अनुसार नै १ मईको दिन आईताबार विहान प्रायः ०९.४५-१०.३० बजीबीच राईमाटाङ चिञ्चुला सड़कमा दिलीप पालको निर्ममतापूर्वक हत्या गरेको जनाएका छन। यता दिलीप पालको छोरा सान्तानु पालले पिताको हत्यारा दुईजना पक्रा परेकोमा बल्ल ढुक्क लागेको तर यी हत्याराहरुलाई कड़ा भन्दा कड़ा सजाय कानुन र अदालतले दिनु पर्ने माग गरेका छन।











