देवेन्द्र किशोर ढुङगाना
आज फेरि
आकाश रोएको छ
धुवाँले ढाकिएको क्षितिजभित्र
मानिसको आवाज हराएका छन —
र बाँकी छ
शक्ति प्रदर्शनको गर्जना।
यो कुनै सीमाको युद्ध होइन,
यो तेलको कुवा,
नक्साको रेखा,
वा शासन परिवर्तनको खेल मात्र होइन—
यो त
मानवता माथि
गरिएको
नांगो हमला हो।
इरानको भूमिमा खसेका बमहरू
केवल शहरहरूलाई होइन,
सभ्यताको स्मृतिलाई छेडिरहेका छन्।
जहाँ बच्चाहरूले इतिहास पढ्नुपर्ने थियो,
त्यहाँ उनीहरूले
आकाशको आवाज सुन्न सिकिरहेका छन्।
.यहाँ कुनै
साम्राज्यवादीको महत्त्वाकांक्षा
जब “सुरक्षा” को नाममा आउँछ,
त्यो सधैं
मानवताको शवमाथि उभिन्छ।
आज फेरि
स्वतन्त्रताको भाषण
मिसाइलबाट सुनाइएको छ।
लोकतन्त्रको गीत
ड्रोनको पंखामा बाँधिएको छ।
तर प्रश्न छ—
के मानवता
कुनै सामरिक रणनीति हो?
के एउटा देशको आत्मा
कुनै शक्तिको प्रयोगशाला हो?
सदियौँदेखि
साम्राज्यबादीहरू एउटै भाषा बोल्छन्
“हामी तिमीलाई बचाउन
आएका हौँ।”
तर उनीहरूको पदचापसँगै
भत्किएका घरहरू,
टुक्रिएका इतिहासहरू,
र रित्तिएका आँखाहरू मात्र बाँकी रहने छन्।
आज इरानमा
जुन आगो बलिरहेको छ,
त्यो कुनै एक देशको आगो होइन
त्यो सम्पूर्ण मानवताको छातीमा सल्काइएको झिल्क़ो हो।
यो हमलाले
सीमा
पार गरेको छ।
यो हमला
राष्ट्रभन्दा ठूलो छ।
यो हमला
मानिसको अस्तित्वमाथि छ।
जब शक्ति
न्यायभन्दा माथि उभिन्छ,
त्यो-
साम्राज्यवाद हुन्छ।
जब शक्ति
संवादलाई दबाइन्छ,
त्यो बर्बरता हुन्छ।
र आज
त्यही बर्बरताले
मानवता माथि आफ्नो हस्ताक्षर गरेको छ।
तर इतिहास
साक्षी छ—
बमहरूले विचार मार्न सक्दैनन्।
प्रतिबन्धहरूले आत्मा झुकाउन सक्दैनन्।
आक्रमणहरूले पहिचान मेटाउन सक्दैनन्।
किनकि
मानवता कुनै भू-राजनीतिक परियोजना होइन—
यो त-
मानिसको साझा सपना हो।
आज
तेहरानको धुवाँमा
काबुलको पीडा मिसिएको छ,
बग्दादको घाउ
गाजाको आँसुमा झल्किएको छ।
र संसारको दक्षिणी गोलार्धमा
अझै पनि
आवाज उठ्दैछ—
“मानवता बिक्रीमा छैन।”
“स्वतन्त्रता आयात हुँदैन।”
“न्याय मिसाइलले ल्याइँदैन।”
यो समय
डरको होइन,
यो समय
स्मरणको हो।
स्मरण—
साम्राज्यवादीहरू सधैं अस्थायी हुन्छन्,
तर प्रतिरोध
सदियौँ बाँच्छ।
आज
इरानमाथि परेको हमला
भोलि कुनै अर्को भूमिमा
दोहोरिन सक्छ।
यदि हामी मौन भयौँ भने,
इतिहास फेरि दोहोरिनेछ।
त्यसैले
यो कविता
शोक मात्र होइन—
यो चेतावनी हो।
मानवता
कुनै युद्धको परिदृश्य होइन।
मानवता
कुनै रणनीतिक लाभ -हानि होइन।
मानवता
अन्तिम सीमा हो—
जहाँ सबै राष्ट्रहरू समाप्त हुन्छन्
र मानवता
सुरु हुन्छ।
आज संसारका पीडितहरूले
एउटै भाषा
बोलेका छन्—
प्रतिरोधको भाषा।
यो प्रतिरोध
घृणाको होइन,
यो प्रतिरोध
अस्तित्वको
लड़ाई हो।
जब कुनै शक्तिले
आकाश कब्जा गर्न खोज्छ,
मानिसहरु
धरती सम्हाल्न उठ्ने छन ।
र आज
त्यही उठनु पर्ने
दिनपनि हो।
मानवता
झुकेको छैन—
र झुक्नेपनि छैन।
किनकि
इतिहासको अन्तिम विजेता
साम्राज्यवादीहरु होइन,
मानवता हुनेछ।










