शहीदहरूको परिवारहरूले योग्यता अनुसार नोकरी पाउनुपर्छ: कल्पना प्रधान
खरसाङ: मणिपुरको प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएका जवानहरूको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गर्नलाई खरसाङको अम्बटे पंखाबारी लङ्भ्यु समष्टीको बिजयी प्रार्थी कल्पना प्रधान पनि पुगेकी थिइन्। उनले बाघडोगरा अनि बेङ्गडुबी पुगेर सबै ११ जना जवानहरूको पार्थिव शरीरलाई भावपूर्ण श्रध्दाञ्जली अर्पण गरेकी छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट बिजय बनेका प्रार्थी कल्पना प्रधान बेङ्गडुबीबाट सोझै आफ्नो समष्टी अन्तर्गत पर्ने रोहिणी निवासी मिलन तामाङको पार्थिव शरीरको अन्तिम संस्कारमा पनि उपस्थित भएकी थिइन्। उनी खरसाङको रोहिणी निवासी मिलन तामाङको मणिपुरमा भएको पैह्रोमा परेर ज्यान गुमाएको जानकारी पाउनसाथ शुक्रबार बेलुकी नै रोहिणी पुगेर १०७ बटालियन टीएको जवान मिलन तामाङको परिवारलाई गहिरो शोक समवेदना प्रकट गर्नलाई पुगेकी थिइन्। उनी आज पनि आफ्नो सम्पूर्ण कार्यलाई थन्काएर शहीद जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्न पुगेकी थिइन्। कल्पना प्रधानले बेङ्गडुबीमा पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो गोर्खा जवानहरूले ज्यान गुमाएकोमा हामी सम्पूर्ण पहाड़ नै दु:खित भएका छौं र म पनि अत्यन्तै दु:खित बनेको बताएका छन् । उनले सबै शहीद बनेका जवानहरूका परिवारहरूलाई ईशवरले सहने शक्ति प्रदान गरुन् भन्दै सबै जवानहरूको चिर आत्माले शान्ति पाऊन् भन्दै सबैप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दछु भनी बताएकी छन्। कल्पना प्रधानले सबै शहीद जवानहरूका परिवारहरूलाई सरकारले सहयोग गर्नुपर्छ र सहुलियतहरू प्रदान गर्नुपर्छ भन्दै परिवारका सदस्याहरूले योग्यता अनुसार नोकरी पाउनुपर्छ भनी मांग गरेकी छन्। प्रधानले शहीद जवानहरूको नानीहरूको पढ़ाई रोकिनु हुँदैन र यसको लागि सरकारले उचित पहल गर्नुपर्छ भनी मांग गरेकी छन्।









