दार्जिलिङ: दार्जिलिङस्थित गोर्खा दुःख निवारक सम्मेलन भवनमा कला सङ्गम मञ्चको तेस्रो विशिष्ट सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
कला सङ्गम मञ्चका अध्यक्ष विशाल सर्घाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम दीप प्रज्वलन तथा माता सरस्वतीको वन्दनाबाट आरम्भ गरिएको थियो। संयुक्त सचिव योगिता राईले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्।
कार्यक्रम तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा मञ्चका सदस्यहरूले आ–आफ्ना साहित्यिक तथा कलात्मक सिर्जना प्रस्तुत गर्दै आपसी विचार–विनिमय गरेका थिए। दोस्रो चरणमा संस्थासम्बन्धी विविध विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो।
कार्यक्रमको अन्तिम चरणमा कला सङ्गम मञ्चको पदाधिकारीका रूपमा सन् २०२३–२०२५ को कार्यकाल सफलतापूर्वक पूरा गर्ने सुमन लामिछाने, सञ्जीव गजमेर र बिनु छेत्रीलाई कृतज्ञता पत्र प्रदान गरिएको थियो।
अध्यक्ष विशाल सर्घाईंले अध्यक्षीय मन्तव्य राख्दै संस्थाको भावी कार्यदिशाबारे प्रकाश पारेपछि कार्यक्रम समापन गरिएको थियो। कार्यक्रमको सञ्चालन तथा समापनसम्बन्धी जानकारी संयुक्त सचिव तथा उद्घोषक निवेदिता राईले दिएकी थिइन्।









