‘कबड्डी-४’ १७ जून रिलीज हुने

IMG_20220613_223238.jpg

गान्तोक। नेपाली चलचित्र जगतमा इतिहासमा रचने सिनेमा ‘कबड्डी-४’ विवादहरूबीच अब भारतमा पनि रिलीज हुने भएको छ। आगामी १७ जूनदेखि यो सिनेमा सिक्किमका सबै सिनेमा घरहरू लगायत दार्जीलिङ, कालेबुङ र सिलगढ़ीका विभिन्न सिनेमा घरहरूमा प्रदर्शन गरिने छन्। कबड्डी-४ नेपाललगायत विभिन्न देशहरूमा अगावै सफलतापूर्वक प्रदर्शन भइरहेका छन्।

अर्कोतिर, यो सिनेमालाई लिएर नेपालबाट शुरू भएको विवाद अझै पनि थामिएको छैन। सिक्किममा यस सिनेमाको प्रदर्शनमाथि रोक लगाउनु पर्ने माग विभिन्न संघ संस्थाहरूले गरिरहेका छन्। यस सिनेमालाई लिएर उत्पन्न भएको विवाद तार्किक निष्कर्षसम्म नपुगेसम्म यसलाई प्रदर्शन नगरिदिन अनुरोध गरिरहेका छन्। उनीहरूले यस सिनेमाकी नायिकाको तर्फबाट सार्वजनिक रूपमा माफीको माग पनि गरिरहेका छन्। यस्तै चर्चाहरूबीच आगामी १७ जूनको दिन सिक्किममा पनि यो सिनेमा रिलीज गरिने जानकारी यस सिनेमाका कार्यकारी निर्माता अन्मोल गुरूङले दिए। सिक्किममा यस सिनेमाको प्रदर्शन सबै कलाकारहरूको उपस्थितिमा भव्य तरिकाले गर्ने योजना बनाएको भए तापनि काठमाण्डौंमा अभिनेत्री मिरुना मंगर र फुर्बा लामालाई लिएर उत्पन्न विवादका कारण सबै पूर्व निर्धारित कार्यक्रमहरू रद्द गरिएको छ। उनले १७ जूनको दिन सामान्य रूपमा सिनेमा प्रदर्शन गरिने बताए। उनले अभिनेत्री र फुर्बा लामाको विवादका कारण विशेष रूपमा बौद्ध धर्मावलम्बीहरूलाई पुग्न गएको ठेसकै कारण पूर्व निर्धारित सबै कार्यक्रमहरू रद्द गरिएको बताए। उनले यो विवाद मिरुना मंगर र फुर्बा लामाबीचको व्यक्तिगत विषय रहेको र सिनेमासॅंग कुनै प्रकारको सम्बन्ध नरहेको पनि स्पष्ट पारे। यद्यपि, बौद्ध धर्मावलम्बीहरूलाई पुग्न गएको ठेसका लागि उनले सम्पूर्ण धर्मावलम्बीहरूप्रति दुई हात जोड़ेर माफी पनि मागे। सिनेमा प्रदर्शनको विरोध गरिरहेका सबै पक्षहरूलाई आफुहरूले सम्पर्क गरेर माफी माग्ने काम पनि गरिरहेको उनले बताए। उनले फुर्बा लामामाथि अन्याय भएको कुरा स्वीकार गर्दै आफुहरू पनि उनको न्यायको पक्षमा रहेको दाबी गरे। यस विषयलाई लिएर नेपालमा सम्बन्धित व्यक्तिहरूले आवश्यक कदम उठाउने काम पनि गरिरहेको जानकारी गराए। तर, वर्तमानमा आएर यो विषय फुर्बा लामालाई न्यायबाट सिनेमा बहिष्कारमा आइपुगेको छ भनी उनले बताए। उनले सिनेमाको वहिष्कार यस समस्याको समाधान नरहेको पनि बताए। उनले यस सिनेमामा सिक्किमकी सुष्मा गुरूङले नै लगानी गरेकी छन् भन्दै फिल्म वहिष्कारको निर्णयले उनीमाथि अन्याय हुने बताए।

उल्लेखनीय छ, नेपालको राजधानी काठमाण्डौंको एउटा हलमा ‘कबड्डी-४’ प्रदर्शनको क्रममा अभिनेत्री मिरुना मंगरले फुर्बा लामालाई थप्पड़ हिर्काएकी थिइन्। उनले लामामाथि उनको शरीरमा अभद्र तरिकाले छोएको आरोप लगाएकी छन्। उनले लामालाई माफी माग्न लगाउॅंदै उठ बस पनि गराएकी थिइन्। यस घटनापछि यो विवाद सिर्जना भएको हो।

About Author

Advertisement