१३ जूनः दक्षिण अफ्रिका विरुद्ध पाँचवटा म्याचको घरेलु टी२० सीरीजको निम्ति रिषभ पन्तलाई ठूलो आशाको साथ भारतीय टीमका कप्तान नियुक्त गरिएको थियो। केएल राहुल चोटग्रस्त भएपछि पन्तसँग टीम इण्डियाको अगुवाई गरेर आफ्नो नेतृत्व क्षमता साबित गर्ने असल मौका थियो तर पहिलो दुईवटा म्याचमा उनले केही खास गर्न सकेनन्। भारतले दक्षिण अफ्रिका विरुद्ध सीरीजको पहिलो दुईवटा म्याचमा हारको सामना गर्नु पऱ्यो। यसरी पन्तको नाममा एउटा यस्तो रेकर्ड दर्ता भयो, जसलाई उनी आफै पनि याद राख्न चाहँदैनन्। पन्त लगातार दुईवटा टी२० अन्तर्राष्ट्रिय म्याच गुमाउने भारतका पहिलो कप्तान बनेका छन्। यसअघि विराट कोहलीले कप्तानको रूपमा आफ्नो पहिलो म्याच नै हारेका थिए। यसपाली पन्त उनीभन्दा अघि पुगेका छन्। यसरी नै टी२०-मा भारतका यस्ता केही कप्तान पनि रहेका छन्, जसले जीतको साथ शुरुवात गरेका छन्। यसमा वीरेन्द्र सहवाग, अजिंक्य रहाणे, केएल राहुल र सुरेश रैना सामेल छन् जबकि महेन्द्र सिंह धोनी टी२०-मा पहिलोपल्ट स्कटल्याण्ड विरुद्ध कप्तानी गर्न मैदानमा ओर्लिएका थिए तर त्यो म्याच वर्षाले गर्दा रद्द भएको थियो तर त्यसपछि खेलिएको म्याचमा उनले टीमलाई जीत दिलाएका थिए।
दक्षिण अफ्रिका विरुद्ध आइतवार खेलिएको सीरीजको दोस्रो म्याचमा भारतले टस हारेर पहिला ब्याटिंग गर्नु पऱ्यो। टीम इण्डियाले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बटुल्यो। भारतीय टीमबाट श्रेयस अय्यरले सर्वाधिक ४० रन बनाए। उनले २ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक ईशान किशनले ३४ र दिनेश कार्तिकले अविजित ३० रन बनाए। दक्षिण अफ्रिकी बलरहरूमा पेसर एनरिच नोर्खियाले २ विकेट हासिल गरे। भारतबाट कसैले पनि क्रीजमा अडिग रहेर लामो ईनिंग्स खेल्न सकेनन्। जवाफमा दक्षिण अफ्रिकाले १० बल बाँकी रहँदै ६ विकेट गुमाएर १४९ रनको लक्ष्यलाई हासिल गऱ्यो। पेस बलर भुवनेश्वर कुमार (१३ रनमा ४ विकेट)-ले भारतलाई असल शुरुवात दिलाए पनि विकेटकीपर हेनरिक क्लासेनले ४६ बलमा ५ वटा छक्का र ७ वटा चौकाको सहायताले अविजित ८१ रन बनाएर टीमलाई जीत दिलाए। यसबाहेक कप्तान टेम्बा बावुमाले ३५ र डेविड मिलरले अविजित २० रन बनाए।










