खरसाङ: तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूद्वारा विभिन्न विषयहरूमा प्रदर्शनी गरिएको छ। उक्त प्रदर्शनीको उदघाटन स्कूल सञ्चालन समितिको सभापति रामबहादुर गजमेर र सचिव अमीत प्रधान साथै स्कूलका शिक्षक प्रभारी देवेन्द्र लामाको बाहुलीबाट गरिएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा एघारौं र बाह्रौं श्रेणीमा मात्र छात्राहरू भए स्कूलका पाँचौंदेखि बाह्रौं श्रेणीसम्मका छात्र र छात्राहरूले नै यस प्रदर्शनीमा सहभागिता जनाएका थिए।

कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूले तीनवटा मुख्य विषयहरू क्रमैले स्वास्थ्य, पोषण र पर्यावरण विषयमा विभिन्न मोडेलहरू बनाएर प्रदर्शनी गरेका थिए। कन्याश्री प्रकल्प छोरी विद्यार्थीहरूका लागि शुरू गरिएको प्रकल्प भए पनि स्कूलका छोरा विद्यार्थीहरूले पनि सक्रिय रूपमा भाग लिएका थिए। यस अवसरमा विद्यार्थीहरूले प्रदर्शन गरेका विभिन्न प्रदर्शनीहरूलाई अतिथिहरू लगायत अभिभावकवर्ग र विद्यार्थीहरूले पनि निरीक्षण गरेका थिए। यस विषयमा बोल्दै तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी सह शिक्षिका सञ्जुली छेत्रीले कन्याश्री प्रकल्प विशेृ गरेर छोरी विद्यार्थीहरूका लागि राज्य सरकारबाट शुरु गरिएको हो। यसबाट कन्या विद्यार्थीहरूलाई पढ़ाईमा सहयोग हुने गर्छ। यसै कन्याश्री प्रकल्प अनुसार स्कूलमा विभिन्न विषयमा प्रदर्शनीहरू राखिएको र यस प्रगर्शनीमा छात्राहरू साथै छात्रहरूले पनि उत्साहपूर्ण रूपमा भाग लिएको बताएका छन्। उनले नानीहरूले विशेष गरेर स्वस्थ्य, पोषण र पर्यावरण विषयमा प्रदर्शनी गरिए पनि यसको अतिरिक्त ग्लोबल वर्मिङ, कसरी स्वास्थ्य रहनु, सफा पानी, प्रदुषण लगायत विभिन्न विषयहरूमा मोडेल बनाएर प्रदर्शनी गरिएको बताएका छन्।

उनले नानीहरू किताबी ज्ञानमा मात्र सीमित नरहेर व्यवहारिक ज्ञानमा पनि खप्पिस रहेको यसले प्रमाणित गरेको अनि नानीहरूले राम्रोसितले बुझाउने कार्य गरेकोमा खुशी व्यक्त गरेका छन्। यस प्रदर्शनीमा अतिथिहरू, अभिभावकवर्ग, विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरू उपस्थित थिए भनी तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको सह शिक्षक देवेन मंगरले जानकारी गराएका छन्।











