मान्यताप्राप्त पत्रकारसरह संरक्षण नपाइने
नयाँ दिल्ली: भारतको सर्वोच्च अदालत (सुप्रीम कोर्ट) ले कन्टेन्ट क्रिएटर, सामाजिक सञ्जालमा रील बनाउने व्यक्ति र मान्यताप्राप्त पत्रकारबीचको स्पष्ट सीमारेखा कोरिदिएको छ। मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारविरुद्ध भएको प्रदर्शनका क्रममा पत्रकारमाथि भएको भनिएको दुर्व्यवहारसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै अदालतले स्वघोषित पत्रकारहरूले मान्यताप्राप्त पत्रकारसरह सुरक्षा र संरक्षण पाउन नसक्ने स्पष्ट पारेको हो।
बिहीबार भएको सुनुवाइका क्रममा न्यायाधीश जोयमाल्या बागचीले पत्रकारको दर्जा आफैँले घोषणा गरेर लिन सकिने विषय नभएको मौखिक टिप्पणी गरे। प्रिन्ट मीडिया, टेलिभिजन च्यानल वा दर्ता भएका अनलाइन सञ्चारमाध्यममा आबद्ध भई प्रेस काउन्सिलबाट मान्यताप्राप्त पत्रकार र मोबाइल बोकेर रील बनाउँदै हिँड्ने व्यक्तिलाई एउटै तराजुमा जोख्न नसकिने अदालतको भनाइ छ। न्यायाधीश बागचीले पछिल्लो समय जोकोहीले आफूलाई पत्रकार दाबी गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यस्ता स्वघोषित पत्रकारलाई विशेष संरक्षण दिन आवश्यक नरहेको बताए।
यसअघि दिल्ली प्रहरीले पनि प्रदर्शनस्थलमा रील बनाउने र कन्टेन्ट क्रिएटरका कारण शान्तिसुरक्षा कायम गर्न चुनौती थपिएको तर्क प्रस्तुत गरेको थियो। विशेषगरी दिल्लीमा भएको नीट पेपर लिक आन्दोलनपछि मोबाइल बोकेर प्रदर्शनस्थलमा पुग्ने र आफूलाई पत्रकार बताउँदै भिडियो बनाउने क्रम बढ्दा वास्तविक पत्रकार र प्रदर्शनकारी छुट्याउन प्रहरीलाई कठिन हुने गरेको बताइएको छ।
सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले प्रेस स्वतन्त्रता र कानुन व्यवस्था कायम राख्ने सरकारको दायित्वबीच सन्तुलन मिलाउन आवश्यक रहेको औँल्याए। प्रदर्शनका क्रममा पत्रकारहरूसँग कस्तो व्यवहार गरिनुपर्छ भन्ने विषयमा स्पष्टता आवश्यक देखिए अदालतले हस्तक्षेप गर्ने सङ्केतसमेत प्रधानन्यायाधीशले दिएका छन्। अदालतको यो टिप्पणीसँगै अनियन्त्रित रूपमा फैलिएको सामाजिक सञ्जालको पत्रकारिता र व्यावसायिक पत्रकारिताबीच स्पष्ट भिन्नता स्थापित हुने अपेक्षा गरिएको छ।





