डुवर्स: भारतीय नेपाली साहित्यका वरिष्ठ कथाकार गुप्त प्रधानको आज बिहान ६.३० बजेतिर निधन भएको छ। कथा क्षेत्रमा बहुचर्चित गुप्त प्रधानले नेपाली साहित्यमा धेरैवटा उत्कृष्ट कथा सङ्ग्रहहरू दिइसकेका छन्। साहित्यकार गुप्त प्रधानको निधनले भारतीय नेपाली साहित्यिक समाज शोकमय बनेको छ।

तिनको निधनप्रति डुवर्सका विभिन्न सङ्घ संस्थाहरूले शोक व्यक्त गरेका छन्। डुवर्स नेपाली साहित्य विकास समितिका सचिव रविन खवासले भने, नेपाली साहित्यका आख्यान रत्न ,महान कथाशिल्पी श्रद्धेय गुप्त प्रधान सरको निधनले सम्पूर्ण नेपाली समाजलाई नै ठूलो क्षति पुऱ्याएको छ। डुवर्सको कार्यक्रमहरूतिर उनको उपस्थितिले हामीलाई गौरव र उर्जा बढेको महसुस हुन्थ्यो। नम्र अनि सरलताका धनी श्रद्धेय गुप्त प्रधानलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। यो शून्यतालाई पूर्ण गर्न धेरै नै समय लाग्ने छ। डुवर्स नेपाली साहित्य विकास समितिको पक्षबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

डुवर्सका समालोचक रूपेश शर्माले पनि तिनको निधनप्रति गहिरो शोक प्रकट गरेका छन्। तिनले भने, विशिष्ट कथाशिल्पी गुप्त प्रधानको असामयिक निधन नेपाली साहित्यको लागि ठूलो क्षति हो। व्यक्तिगत रूपमा पनि उनीसँग मेरो आत्मीय सम्बन्ध थियो। उनको पछिल्लो कथाकृति ‘जूनका अनुहारहरू’ (२०२०) विषयमा हामी दुईमाझ धेरै कुरा भएको थियो। ‘केही नयाँ” कथाशिल्प र वैचारिकी यसमा प्रयुक्त भएको उनी बताउँथे। केही कथाहरू पढेपछि मैले उनीसँग यस विषयमा थप कुराकानी गरेको थिएँ।मान्छे! मान्छेकै बस्तीभित्र (१९८०), अक्षरै अक्षरको शहर (१९९३), विराम चिन्हहरू (२००२), समयका प्रतिविम्बहरू (२०११) जस्ता कथासङ्ग्रह अनि धूमिल पृष्ठहरू (२००८) जस्ता अनुसन्धानात्मक ग्रन्थद्वारा नेपाली साहित्यलाई समृद्ध बनाउने कथाकार प्रधान व्यक्तिगत रूपमा पनि मृदु भाषी, विनम्र र अति संवेदनशील थिए। उनको दुखद् निधन हाम्रा लागि अत्यन्त पीड़ादायी छ। उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।एक विशिष्ट कथाकारका रूपमा उनी नेपाली साहित्य र समाजमा चिर स्मरणीय रहनेछन्।
विशिष्ट कथाशिल्पी गुप्त प्रधानको असामयिक निधनमा प्रतिष्ठित संस्था बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले गहिरो शोक प्रकट गरेको छ। उनको निधनबाट नेपाली साहित्यलाई ठूलो क्षति पुग्न गएको प्रतिष्ठानले जनाएको छ। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूल सचिव रूपेश शर्माले एक प्रेस विज्ञप्ति जारी गरेर केही वर्षअघि प्रतिष्ठानको पुरष्कार अलङ्करण समारोहमा विशिष्ट अतिथिका रूपमा उनको उपस्थितिको स्मरण गरेका छन्। विज्ञप्तिमा भनिएको छ, जूनका अनुहारहरू (२०२०), मान्छे! मान्छेकै बस्तीभित्र (१९८०), अक्षरै अक्षरको शहर (१९९३), विराम चिन्हहरू (२००२), समयका प्रतिविम्बहरू (२०११) जस्ता कथासङ्ग्रह अनि धूमिल पृष्ठहरू (२००८) जस्ता अनुसन्धानात्मक ग्रन्थद्वारा नेपाली साहित्यलाई समृद्ध बनाउने कथाकार प्रधान व्यक्तिगत रूपमा पनि मृदु भाषी, विनम्र र अति संवेदनशील थिए। उनको दुखद् निधन हाम्रा लागि अत्यन्त पीड़ादायी छ। डुवर्सलाई धेरै माया गर्ने अनि विभिन्न अवसर, कार्यक्रम र साहित्यिक गोष्ठीमा डुवर्समा सहभागी हुने उनको डुवर्स-सम्बन्ध सधैं हाम्रो मन-मस्तिष्कमा अमेट भएर रहनेछ। प्रतिष्ठानले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। एक विशिष्ट कथाकारका रूपमा उनी नेपाली साहित्य र समाजमा चिर स्मरणीय रहने विज्ञप्तिमा उल्लेख छ।

डुवर्सका निबन्धकार अनि पत्रकार अजय खड्काले कथाकार प्रधानको निधनप्रति शोक व्यक्त गर्दै भने, भारतीय नेपाली साहित्यमा एक अग्रणी आख्यानकारका रुपमा परिचित श्री गुप्त प्रधानको असमायिक निधन भयो भनेर सुन्दा हतप्रद भएको छु। मान्छे मान्छेको बस्तीमा जस्ता दर्जनौं अब्बल कोटिका कथासँगै थुप्रै उत्कृष्ट रचनाहरूद्वारा नेपाली साहित्यलाई सम्वृद्ध तुल्याउने स्तम्भको निधनले अपुरणीय क्षति हुनगएको प्रष्ट छ। दिग्गजको समुचित मूल्याङ्कन, कदर र टेवा हामीबाट हुनुपर्ने जत्ति हुनसकेन कि भन्ने ननिको आभास पनि भइरहेछ। उहाँप्रति श्रद्धाञ्जली। यो दु:खद क्षणमा तपाईं आफ्नो कालजयी कृतिहरूमा सर्वदा जीवित रहनुहुनेछ भन्ने मन्तव्य प्रकट गर्दछु।

युवा गजलकार अनि पत्रकार लिलाबहादुर छेत्रीले पनि वरिष्ठ कथाकारको निधनप्रति शोक प्रकट गर्दै भने, गुप्त प्रधान अब रहेनन् भन्ने खबरले आहत छु। उनका समकालीन जतिकै आहत बनेका छौँ हामी युवा पिँढी।यस पिँढीसँग उनी नहुनुको पीडाबोध उनको यस पिँढीसँगको सहकार्य र साहित्य साधनामा तल्लीन रहनु जस्ता कुराहरूले गराइरहने छ।जुन धार र जीवनशैलीमा गुप्त प्रधान जस्ता हस्तीले साहित्य साधना गरे त्यसलाई सिको गर्नसक्नु हाम्रो निम्ति ठूलो चुनौतीको कुरो हो।अत्याधिक प्रचार-प्रसार र वाहवाहीको लत बसिसकेको हामीलाई गुप्त प्रधानका सिर्जनकर्मले घचघचाउने काम गरिरहनेछ। गुप्त प्रधान आफ्ना कर्महरूमा निष्ठापूर्वक जाति र भाषा -साहित्यको निम्ति केही गर्नेहरूका निम्ति सदैव प्रेरणाको स्रोत बनेर जीवित रहनेछन्।











