कथाकार अबीर खालिङ २६औं डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कारद्वारा अलङ्कृत

IMG-20230704-WA0388.jpg

गान्तोक: साहित्यकार अबीर खालिङ २६औं डा. शोभाकान्ति थेगिम लेप्चा स्मति पुरस्कारद्वारा अलङ्कृत भएका छन्। बिजनबारी खण्ड विकास कार्यालयअन्तर्गत कर्माटारमा जन्मेका हाल डुवर्समा कार्यरत साहित्यकार खालिङलाई डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति गुठीद्वारा वर्ष २०२३ को पुरस्कारका लागि चयनित गरेको हो। मङ्गलवार राजधानी गान्तोकको मनन भवनमा आयोजित पुरस्कार अलङ्करण समारोहमा कथाकार अबीर खालिङलाई उनको कथासङ्ग्रह ‘दार्जीलिङ मेटामोर्फोसिस’-का लागि यो पुरस्कार प्रदान गरियो। उनलाई पुरस्कारस्वरूप नगद ५०,००१ रुपियाँ, ताम्रपत्र मुख्य अतिथि पद्मश्री सानु लामा र सभाअध्यक्ष साहित्यकार रूद्र पौड्यालका बाहुलीबाट प्रदान गरियो।
डा. शोभाकान्ति थेगिम (लेप्चा) ट्रस्टको रजत जयन्ती समारोहमा वर्ष १९९८ देखि वर्ष २०२२ सम्म डा. शोभाकान्ति थेगिम पुरस्कारले अलङ्कृत भइसकेका व्यक्तित्व साथै नेपाली साहित्यमा दीर्घकालीन सेवा पुर्‍याइरहेका पाँचजना साहित्यकार तथा प्रकाशकलाई पनि सम्मान जनाइयो। यसमा डा. शान्ति छेत्री, वाङ्दी छिरिङ लामा, बेन छिरिङ राई, शैलेस प्रधान र जनपक्ष प्रकाशनका प्रकाशक पुण्यप्रसाद शर्मा रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सभा अध्यक्ष भाषाविद् रूद्र पौड्यालले विगत २५ वर्षदेखि निरन्तर पूर्वाग्रह, दुराग्रह, पराग्रहरहित रहेर भाषा साहित्य र संस्कृतिको सेवा गर्दै आउने डा. शोभा कान्ति थेगिम ट्रस्टको कार्य अद्वितीय रहेको बताए। उनले ट्रस्टको कार्यशौलीको पवित्रतालाई सम्मान जनाउँदै पुरस्कृत सबै साहित्यकार साथै भाषाप्रेमीहरूले यो ट्रस्टलाई निरन्तरताका लागि आफ्नो तर्फबाट योगदान सबैलाई आग्रह गरे। उनले सम्मानित कथाकार अबीर खालिङको कलमले पनि निरन्तरता कायम राखोस् भन्ने कामना गरे। पौड्यालले वर्तमानमा पढ्ने-लेख्ने क्रममा मोबाइल सौता भएर पसेपनि लेख्नेहरूले आफ्नो लेख्ने कार्यलाई निरन्तरता दिइरहनुपर्ने कुरामा जोड़ दिँदै भने, “संसार गोलो छ। कुनै न कुनै दिन अहिले सिर्जना गरिएका साहित्यको अध्ययन, मनन र चिन्तन हुने नै छ।”
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सानु लामाले डा. शोभा कान्ति थेगिम ट्रस्ट, भारतमा नेपाली भाषा-साहित्यको श्रीवृद्धिका लागि निरन्तर काम गर्ने छुट्टै किसिमको संस्था रहेको विचार राखे। ट्रस्टले विगत २५ वर्षदेखि निरन्तर नेपाली भाषा-साहित्यको जगेर्ना गर्न उल्लेखनीय योगदान दिएकोमा सम्पूर्ण नेपालीभाषीको तर्फबाट ट्रस्टप्रति आभार व्यक्त गरे।
आफ्नो सम्बोधनमा डा. शोभाकान्ति थेगिम पुरस्कारले सम्मानित कथाकार अबीर खालिङले आफ्नो कृतिले सम्मान प्राप्त गरेकोमा खुशी प्रकट गरे। उनले भने, “कतिपय कृतिहरू जन्मँदै भाग्य लिएर आउँदा रहेछन्। कथासङ्ग्रह ‘दार्जीलिङ मेटामोर्फोसिस’ एउटा यस्तै कृति हो।” कथाकार खालिङले नेपाली साहित्यका समालोचक र अध्येताहरू मौन नबसी साहित्यको निर्क्योल गरिदिन आग्रह पनि गरे। उनले भने, “समालोचक र अध्येताहरू मौन बसे सिर्जना मरेर जान्छ।” कथासङ्ग्रह ‘दार्जीलिङ मेटामोर्फोसिस’ को लागि पुरस्कार घोषणा भएपछि आफूले ट्रस्टको इतिहास पल्टाएको र यो पुरस्कारको पवित्रता बुझेपछि खुशी लागेको बताए।
यसअघि कार्यक्रममा स्वागत सम्बोधन राख्दै ट्रस्टका अध्यक्ष डुपछिरिङ लेप्चाले २५ वर्षको अवधिमा ट्रस्टले गरेका कार्यहरूबारे अवगत गराए। उनले २५ वर्षमा २५ जना साहित्यकारलाई सम्मान जनाएको, २२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको, केही पुस्तकहरू प्रकाशन गरेको बताए। धेरै काम गर्ने इच्छा भए तापनि थोरै काम गरेको जनाउँदै यद्यपि यसमा ट्रस्ट सन्तुष्ट रहेको बताए। “सिक्किमेली साहित्यलाई छिमेकी दार्जीलिङको साहित्यको हाराहारीमा ल्याउने स्वर्गीय डा. शोभाकान्ति थेगिमको इच्छा रहेको थियो। अहिले आएर शोभाकान्ति थेगिम पुरस्कार हासिल गर्ने साहित्यकारहरूले साहित्य अकादमीदेखि लिएर नेपाली साहित्यकै ठूल्ठूला पुरस्कारहरू हासिल गर्न सफल हुँदा उनको चाहना पूरा भएको हामीले महसुस गरेका छौँ”-लेप्चाले भने।
यस अवसरमा कार्यव्यस्तताका कारण मुख्यमन्त्री उपस्थित हुन नसके तापनि उनको प्रतिनिधित्व गर्दै आएका मुख्यमन्त्रीका सचिव एसडी ढकाल उपस्थित रहेका थिए। उनले मुख्यमन्त्रीको तर्फबाट ट्रस्टलाई १० लाख रुपियाँ हस्तान्तरण गरे। यस अवसरमा डा. शोभाकान्ति थेगिम पुरस्कार प्रापक २५ जना साहित्यकारलाई ट्रस्टका अध्यक्ष डुपछिरिङ लेप्चालाई सम्मान जनाए। कार्यक्रममा सातवटा कालजयी गीत क्रमैले गीता शर्मा, दिवस गुरुङ, मणिका राई, युवराज गहतराज, पवित्र तामाङ, दिनेश दाहाल र मिनिका शर्माले प्रस्तुत गरे। नेपाल पोयट आइडल विजेता नीलम गुरुङले सञ्चालन गरेको कार्यक्रममा धन्यवाज्ञा ज्ञापन वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठले राखेका थिए।

About Author

Advertisement