नयाँ दिल्ली: कतरमा चार वर्षभन्दा बढी समयदेखि हिरासतमा रहेका भारतीय नौसेनाका पूर्व कमान्डर पूर्णेंदु तिवारीको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना गरिएको खबर बाहिरिएसँगै भारत सरकार सक्रिय भएको छ। भारतीय विदेश मन्त्रालयले कतरका अधिकारीहरूसँग सम्पर्क गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी माग्दै उचित उपचारको प्रबन्ध मिलाउन आग्रह गरेको छ।
सन् २०२२ मा जासुसीको आरोपमा कतरमा पक्राउ परेका भारतीय नौसेनाका आठ पूर्व अधिकारीहरूमध्ये तिवारी पनि एक हुन्। कतरको अदालतले सजाय कम गरेपछि र त्यहाँका अमिरले रिहाइको आदेश दिएपछि अन्य सात अधिकारी भारत फर्किसकेका छन्, तर तिवारी भने अझै कतरकै हिरासतमा छन्।
विदेश मन्त्रालयको पहल
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार सञ्चारमाध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको बताउँदै कतर प्रशासनसँग निरन्तर सम्पर्क भइरहेको जानकारी दिनुभयो।
”हामीले तिवारीको स्वास्थ्य अवस्थाबारे मिडियामा आएका केही समाचारहरू देखेका छौँ। उनको कुशलक्षेम बुझ्न र आवश्यक परेमा उचित चिकित्सकीय हेरचाह उपलब्ध गराउन कतरका अधिकारीहरूसँग आग्रह गरेका छौँ,” जैसवालले भन्नुभयो।
तिवारीलाई हालै अस्पताल भर्ना गरिएको जानकारी प्राप्त भएको र उनको मेडिकल रिपोर्ट तथा स्वास्थ्य अवस्थाबारे थप विवरण मागिएको मन्त्रालयले जनाएको छ। प्रवक्ता जैसवालले कमान्डर तिवारीको सहयोगका लागि भारत हरसम्भव प्रयास गर्न प्रतिबद्ध रहेको बताउँदै मन्त्रालय तिवारीको परिवार र कतरका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको स्पष्ट पार्नुभयो।





