कञ्चनपुरमा दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा देखा परे

IMG-20241207-WA0197

कंचनपुर: हिमालय क्षेत्रमा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखिएका छन्। बेलौरी नगरपालिका-७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो। नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेला पारेका हुन्।
हिमाली क्षेत्रमा हिउँ पर्न सुरु भए क्रमसँगै चिसो छल्न यी चरा तराई क्षेत्रमा आउने गर्दछ।’तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेका छन,’ चराविज्ञ डगौराले भने, ‘कञ्चनपुरमा भने पहिलोपटक देखापरेको छ, यो चरा यस क्षेत्रका लागि दुलर्भ नै हो।’
अहिलेसम्मको तथ्याङ्कमा यो चरा नदेखिएको उहाँको भनाइ छ। यो चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ।
गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्दछन। जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइ सरेर पुग्ने गर्दछ। यसले गर्मीका बेला प्रजनन गर्ने गर्दछ। घना रुख र झाडीमा गुँड लगाएर अण्डा पारेर बच्चा कोर्लने गर्दछ।
कृष्णवक्ष रातोकण्ठ चराको भालेको सेतो निधार, स्टलेटी खैरो हुन्छ भने पखेटा खैरो रङको र पुच्छर सेतो टुप्पोमा कालो रङको हुन्छ। घाँटी र छातीको छेउ कालो हुन्छ भने घाँटीको बीचमा रातो रङको हुन्छ।पोथी निलो खैरो रङको हुन्छ। घाँटी सेतो हुन्छ।
तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै बासस्थानमा फर्कने गर्दछ। यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ। सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको चराविज्ञ डगौराको भनाइ छ।

About Author

Advertisement