नयाँ दिल्ली: ओमानको तट नजिकै भारतीय झण्डा भएको एक व्यापारिक जहाजमाथि भएको हमलालाई लिएर भारतले कडा प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयले यस घटनाको घोर निन्दा गर्दै यस प्रकारका आक्रमणहरू कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने स्पष्ट पारेको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बिहीबार एक विज्ञप्ति जारी गर्दै व्यावसायिक जहाज र सर्वसाधारण चालक दलका सदस्यहरूलाई निशाना बनाउनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय भएको बताउनुभएको छ। उहाँका अनुसार हमलाका बावजुद जहाजमा सवार सबै भारतीयहरू सुरक्षित रहेका छन् र उनीहरूको उद्धारका लागि ओमान प्रशासनलाई धन्यवाद समेत ज्ञापन गरिएको छ।
प्राप्त जानकारी अनुसार, ‘हाजी अली’ नामक उक्त मालवाहक जहाज १३ मईको बिहान ओमानको समुद्री क्षेत्रबाट गुज्रिरहेका बेला ड्रोन वा मिसाइल जस्तो हतियार ठोक्किएपछि त्यहाँ आगलागी भएको थियो। उक्त समयमा जहाज सोमालियाको बेरबेरा पोर्टबाट शारजाहतर्फ जाँदै थियो। स्थिति बिग्रिएपछि जहाजमा रहेका १४ चालक दलका सदस्यहरूले लाइफ बोटको सहयोगमा ज्यान जोगाउन सफल भएका थिए, जसलाई पछि ओमान कोस्टगार्डले सुरक्षित उद्धार गरेको थियो।
चालक दलका सदस्यहरूका अनुसार ठक्कर खानुअघि ठूलो विस्फोटको आवाज सुनिएको थियो, जसलगत्तै जहाजमा आगो फैलिएको थियो। भारतले समुद्री मार्गहरूमा व्यापारिक जहाजहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्नु अनिवार्य रहेको र यस्ता आक्रमणहरूलाई हरहालतमा रोकिनुपर्ने कुरामा पुनः जोड दिएको छ।











