मिजोरम :मिजोरमको ऐजवाल जिल्ला प्रशासनले जिल्लाका सात प्रमुख पर्यटकीय स्थलमा एकल-प्रयोग (सिंगल–यूज) प्लास्टिक वस्तुको प्रयोग, बिक्री, वितरण तथा भण्डारणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। वातावरण संरक्षण, फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा पर्यटकीय क्षेत्रलाई स्वच्छ राख्ने उद्देश्यले यो निर्णय गरिएको हो।
प्रशासनका अनुसार भारतको सर्वोच्च अदालतले मे ५, २०२६ मा दिएको निर्देशन तथा ठोस फोहोर व्यवस्थापन नियम, २०२६ को प्रभावकारी कार्यान्वयनका लागि उक्त कदम चालिएको हो। अदालतले पर्यटकीय क्षेत्रहरू पहिचान गरी त्यहाँ फोहोर व्यवस्थापनका उपायहरू सुदृढ बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।
मिजोरम सरकारको शहरी विकास तथा गरिबी निवारण विभागको सिफारिसका आधारमा ऐजवाल जिल्लाका सात पर्यटकीय स्थललाई प्रतिबन्ध कार्यान्वयनका लागि चयन गरिएको छ। ती स्थलहरूमा लालसावुंगा पार्क, फाल्कवन जोखुआ, सकावरमुइतुई त्लाङ, हमुइफाङ त्लाङ, लविपुमा ख्वापप, साइराङ रेलवे स्टेशन र सियालसुक त्लाङ रहेका छन्।
जिल्ला प्रशासनले यस निर्णयले प्लास्टिकजन्य प्रदूषण नियन्त्रण गर्न, जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न तथा पर्यावरणीय संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, ती क्षेत्रहरूमा सञ्चालनमा रहेका व्यवसायी, विक्रेता, पसले तथा पर्यटकहरूलाई एकल-प्रयोग प्लास्टिकको प्रयोग नगरी वातावरणमैत्री तथा पुनःप्रयोग गर्न सकिने सामग्री प्रयोग गर्न आग्रह गरिएको छ।
आदेशको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि प्रशासनले नोडल अधिकारी, सरसफाइ अधिकारी तथा विशेष प्रवर्तन टोली परिचालन गरेको छ। प्रशासनले निर्देशिका उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि ठोस फोहोर व्यवस्थापन नियम, २०२६, प्लास्टिक फोहोर व्यवस्थापन नियम, २०१६ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।









