गान्तोक: मार्टिन ग्रुप्सको डियर लटरीले सीएसआर अन्तर्गत राज्य सरकारलाई २ करोड रूपियाँ प्रदान गऱ्यो। उक्त धनराशि गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मार्टिन ग्रुप्स डियर लटरीका प्रतिनिधिहरूको उपस्थितिमा प्रदान गरे। विशेष गरेर कम्पनीले कोषको एक भाग सिक्किम प्रिमियर लिग (एसपीएल) सिजन ३ को सफल आयोजनाको निम्ति प्रदान गरेको हो। यो एक प्रमुख फुटबल कार्यक्रम हो जसले युवा प्रतिभालाई खेलकूदको क्षेत्रमा प्रोत्साहन गर्नको छ साथै राज्यमा खेलकूद क्षेत्रलाई माथि उठाउनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। मुख्यमन्त्री तामाङले मार्टिन ग्रुपको डियर लटरीलाई सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै, सिक्किमको खेलकूदलाई मजबुत पार्न यसको महत्त्वपूर्ण भूमिकाबारे उल्लेख गरे। उनले मार्टिन ग्रुपका प्रतिनिधि केआर शंकर, सिक्किम राज्य लटरीका प्रमुख निर्देशक पवन अवस्थी र गान्तोकका जिल्लाका जिल्लापाल तुषार निखारे लगायत प्रमुख अधिकारीहरूलाई धन्यवाद दिए। यस प्रकारको पहलले राज्यको आकांक्षी फुटबल खेलाडीहरूको लागि बलियो मञ्च प्रदान गर्नको साथै खेलकुद क्षेत्रमा सिक्किमको स्थितिलाई अझ बलियो बनाउने बताउँदै भविष्यमा पनि यस प्रकारको सहयोग निरन्तर पाउन सक्ने आशा व्यक्त गरेका छन्।











