एसडीएफ चेली मोर्चाको राज्यस्तरीय समन्वय सभा सम्पन्न

sdf_565

गान्तोकः एसडीएफ पार्टी चेली मोर्चाको तत्वावधानमा आज राज्यस्तरीय समन्वय सभाको आयोजना घुरबिसेस्थित पार्टी अध्यक्षको वासस्थानमा सम्पन्न भएको बताइएको छ। पार्टीकी वरिष्ठ उपाध्यक्ष मनिता प्रधानको अध्यक्षतामा आयोजित सभामा राज्यका ३२ वटै क्षेत्रका चेली संयोजिका तथा उपसंयोजिकाहरूको उपस्थिति रहेको थियो। यसैगरी पार्टीकी वरिष्ठ उपाध्यक्ष मनिता मगर, उपाध्यक्ष इन्द्र प्रधान, प्रधान कार्यालयकी संगठन उपाध्यक्ष मल्लिका राई, उपाध्यक्ष पञ्चायत प्रकोष्ठकी सिङजिङ लमु, चेली मोर्चा उपाध्यक्ष सकुन गुरुङ, चेली मोर्चा तथा पार्टीकी प्रचार प्रसार महासचिव दिलु दाहालको उपस्थितिमा सभाले विभिन्न कार्ययोजनाबारे छलफल गरेको पनि बताइएको छ।

सभामा दक्षिण जिल्ला चेली संयोजिका बन्दना राई, महासचिव अनिता गौतम, पश्चिम जिल्ला संयोजिका सोभना राई तथा दिलु गुरुङ, महासचिव पासङ फुटी भोटियाको पनि उपस्थिति रहेको थियो। पाकिम जिल्लाकी संयोजिका लक्ष्मी लिम्बूलगायत सम्पूर्ण निर्वाचन क्षेत्रका चेली संयोजिका तथा उपसंयोजिकाहरूको सामूहिक विचार र छलफलमा पार्टीको भावी कार्यक्रम र योजनाहरू जनतामा लगिने कार्ययोजना पनि तयार पारिएको प्रचार प्रसार महासिचव दिलु दाहालले जानकारी दिएकी छन्। एसडीएफ पार्टीको सिक्किम बचाऔं अभियानका विभिन्न जनचेतनामूलक कार्यहरूको रूपरेखा पनि आजको सभाले तयार पारेको बुझिएको छ। अर्कोतिर सभाको क्रममा अन्तरक्रियाको क्रममा सहभागी जिम्मेवार चेलीहरूले आ-आफ्ना क्षेत्रका प्रतिवेदन पनि प्रस्तुत गरेका थिए।

सभाको अन्तमा एसडीएफ पार्टीका नेता पवन चामलिङको विचार र दर्शन अनि पवन चामलिङको नेतृत्वले मात्र अबको सिक्किम सुरक्षित र सुशासित बन्न सक्ने निचोड निकालिएको पार्टी स्रोतले जानकारी दिएको छ। यसरी नै आउँदा दिनहरूमा सम्पूर्ण आमा-चेलीहरूले आफ्ना व्यक्तिगत समस्यालाई पर राखेर सिक्किम राज्यको हितमा जिम्मेवारीपूर्वक आ-आफ्ना योगदान दिएर एसडीएफ पार्टी अथवा जनता राजको सरकार गठनको प्रतिबद्धता व्यक्त गरेका थिए।

About Author

Advertisement