गान्तोकः भर्खरै सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी त्यागेर विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्टमा सामेल भएका पूर्व सिक्किमको रिनाक निवासी योगेश खतिवड़ाले एसकेएम सरकारमाथि विभिन्न आरोप लगाएका छन्। आज यहाँको इन्दिरा बाइपासस्थित एसडीएफ पार्टी मुख्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यको वर्तमान सरकारको खोइरो उतारे। उनको भनाइअनुसार एसकेएम सरकारले ग्रामीण स्तरमा अहिलेसम्म कुनै काम गरेको छैन। चुनाउ अघि घोषणापत्रमा गरेका वाचाहरू कुनै पूरा भएको छैन। केवल पहिलेको सरकारले गरेका कामहरूको श्रेय लिने काम मात्र गरिरहेको छ।
रिनाकका वर्तमान विधायक विष्णु कुमार खतिवड़ाका भतिज बताइने योगेश खतिवड़ाले आफ्नै काकाको सबैभन्दा बेसी विरोध र आलोचना गरेका छन्। विधायक विष्णु कुमार खतिवड़ाले क्षेत्रवासीको हितमा पटक्कै काम नगरेको उनको आरोप रहेको छ। उनको भनाइअनुसार अहिले रिनाकका विधायकको घरमा अन्य समष्टिका मानिसहरूको भिड़ लाग्ने गरेको छ। यसरी नै आगामी दिनमा अन्य विधायकहरूको पनि पोल खोल्ने योगेश खतिवड़ाले दावी गरेका छन्। एसकेएम पार्टीका विधायकहरूले जनताको अधि अर्कै बोल्ने, राति दुई-चार जनासित अर्कै चर्चा गर्ने र बिहान अर्कै निर्णय लिने गरेको उनको भनाइ रहेको छ।
एसकेएम पार्टीलाई भित्रबाट जानेपछि र अब सिक्किमलाई बचाउने र सही मार्गमा लाने केवल एसडीएफ पार्टी र पवन चामलिङ रहेछ भन्ने कुरा बुझेपछि एसकेएम पार्टी त्यागी एसडीएफ-मा सामेल भएको योगेश खतिवड़ाले पत्रकारहरूसितको कुराकानीमा बताए।










