एसकेएम विरुद्ध प्रमाणसहित शिकायत दर्ता

n6004926561713208423803532ad3e4b1e2fc57a77e78223dcb7301283324b902ecfb56144186264716303b.jpg

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेशका प्रतिनिधि टोलीले हिजो मनन् केन्द्रमा राज्यको सत्तारूढ़ एसकेएम पार्टीद्वारा आयोजित विद्यार्थी सम्मेलनमा कथित चुनाउ आचार संहिताको उल्लङ्घन विषयलाई लिएर आज चुनाउ आयोग, केन्द्रिय पर्यवेक्षक, राज्यपाल, रिटर्निङ अफिसर अनि केन्द्रलाई पुख्ता प्रमाणसहित शिकायत दर्ता गराएको बताइएको छ।

पार्टीका लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपाल, तादोङ समष्टिका उम्मेदवार निरेन भण्डारी, युवा मोर्चा प्रभारी ललित पोख्रेल शर्मा, गान्तोक जिल्ला अध्यक्ष सोनाम ग्याम्छो पल्जरसहितको एउटा टोलीले आज राज्य चुनाउ आयुक्त, केन्द्रिय पर्यवेक्षक, राज्यपाल अनि रिटर्निङ अफिसरलाई यस सम्बन्धी एउटा ज्ञापन पत्र चढ़ाउँदै उक्त घटनामाथि गहन छानबीन गरेर १९ अप्रेलभन्दा अगावै यसको छिनाफाना गर्नुपर्ने माग गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस अघि हिजो राति नै पार्टी प्रतिनिधिहरूले सदर पुलिसमा आयोजकविरूद्ध प्राथमिकी दर्ता गरिसकेको पनि बताइएको छ।

विज्ञप्तिमा बताइए अनुसार, हिजो सत्तारूढ़ एसकेएम पार्टीले मनन केन्द्रमा आयोजन गरेको विद्यार्थी सम्मेलनमा राज्यभरिबाट उपस्थित विद्यार्थीहरूले आफूहरूमाथि अन्याय भएको आरोप लगाउँदै मध्यरातिसम्म धरना दिएका थिए। धेरै मात्रामा विद्यार्थीहरूले पार्टीबाट १० हजारको दरले रकम प्राप्त गरेपनि अन्यले केही नपाउँदा उनीहरूले भोकै रातिसम्म धरना दिइरहे।

यस विषयमा भारतीय जनता पार्टीका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले शिकायत गरेपछि तुरून्तै पार्टीका लोकसभा उम्मेदवारको अगुवाईमा तादोङका उम्मेदवार निरेन भण्डारी, युवा मोर्चा प्रभारी ललित पोख्रेल शर्मा आदिले स्थलगत निरीक्षण गर्दै आयोजक पक्षलाई अल्टिमेटम दिएपछि विद्यार्थीहरूलाई भोजन र वास व्यवस्थाको लागि लगिएको दाबी गरिएको छ।

अर्कोतिर, उक्त कार्यक्रममा चुनाउ सम्बन्धित अधिकारीहरू, फ्लाइङ स्क्वाडका प्रतिनिधिहरूको उपस्थितिमै व्यापक रूपमा पैसा बाँड़ेर चुनाउ आचार संहिताको धज्जिया उड़ाएको थाहा लागेपछि भाजपा प्रतिनिधि टोलीले स्थानीय सदर थानामा आयोजकपक्ष विरूद्ध प्राथमिकी दर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस विषयमा प्रदेश भाजपाले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री कार्यालय साथै पार्टी मुख्यालय, नयाँ दिल्लीको लिगल टीमलाई प्रमाणसहित ज्ञापन दिइसकेको बताएको छ। प्रदेश भाजपाले यस सम्बन्धमा चाँड़ोभन्दा चाँड़ो छानबीन गरेर १९ अप्रेलभन्दा अघि नै मुद्दाको छिनाफाना हुनुपर्ने माग गरेको छ।

About Author

Advertisement