मंगन: सिक्किम क्रान्तिकारी मोर्चा पूर्व सरकारी कर्मचारी प्रकोष्ठका अध्यक्ष लेजोङ भोटिया अनि उत्तर जिल्लाका जिल्ला अध्यक्ष कादो लेप्चाको अगुवाईमा रहेको एक टोलीले उत्तर सिक्किमको जङ्गु अन्तर्गत माङशिला पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गऱ्यो। यस अवधि उनीहरूले पीड़ितहरूसँग भेट गरी आवश्यक सहयोग प्रदान गरेका छन्। पीड़ितहरूसँग कुराकानीमा यस संकटको समयमा सरकार साथ रहेको अनि सरकारको पक्षबाट आवश्यक सबै सहयोग पुऱ्याउन आफूहरूले पहल गरिदिने उनीहरूले वचन दिएका छन्। घरहरू पूर्ण रूपले क्षतिग्रस्त भएका परिवारलाई तत्काल राहत सेवा पुऱ्याइएको छ। स्थानीय जिल्ला पञ्चायत अमृता लिम्बूले जनाए अनुसार, पैह्रोमा परेर ४ वटा घर पूर्ण रूपले क्षतिग्रस्त भएको छ।
जानकारी गराइन्छ, यसपाली वर्खाको शुरुमै सिक्किम राज्यमा पैह्रो अनि भलले धेरै क्षति पुऱ्याइरहेको छ। हालसम्म धेरै ज्यानमालको क्षति भइसकेको छ। यी विषयलाई ध्यानमा राख्दै राज्य सरकारले तत्काल राहतसँगै समस्या समाधानको दिशातर्फ अग्रसर बनेर कार्य गरिरहेको छ।









