एसकेएम किसान मोर्चाद्वारा स्वयं सहायता सम्मेलन आयोजित

IMG-20230908-WA0336.jpg

गान्तोकः सिक्किम सरकारको कृषि, बागबाणी तथा पशुपालन विभागअन्तर्गत प्रदान गरिने किसान प्रोत्साहन योजनाको धनराशि आगामी दशैं अघि नै वितरण गरिने विभागीय मन्त्री लोकनाथ शर्माले जानकारी दिएका छन्। एसकेएम पार्टीको किसान मोर्चाले आज शुक्रवार गान्तोक जिल्लाका स्वयं सहायता समुहलाई लिएर आयोजन गरेको सम्मेलन अवधि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले कृषक प्रोत्साहन योजनाका लाभार्थी ग्राम सभा मार्फत छानबिन गर्ने काम भइरहेको बताए। लम्पी रोगलाई सिक्किम सरकारले आपदा घोषणा गरेपछि किसानहरूलाई दिइने भनिएको क्षतिपूर्तिबारे पनि सरकारले काम गरिरहेको उनले बताए। सिक्किममा लम्पी रोगबाट दुईहजार गाईको मृत्यु भइसकेको जानकारी दिंदै किसानहरूलाई क्षतिपूर्ति दिलाउन सरकार गम्भीर रहेको उनले बताएका छन्।

कार्यक्रममा बोल्दै मन्त्री लोकनाथ शर्माले एसकेएम सरकार कृषकहरूलाई सम्मान दिएर कृषि र पशुपालन मार्फत ग्रामीण अर्थतन्त्र दह्रिलो बनाउन प्रतिबद्ध रहेको बताए। किसानहरूको हितलाई ध्यानमा राखेर विभिन्न प्रोत्साहन योजना शुरु गरेको साथै सीड सेल मार्फत कृषि क्षेत्रमा युवा उद्यमी तयार पार्न पनि सरकारले काम गरिरहेको बताए। स्वयं सहायता समुहलाई मन्त्री शर्माले सरकारी योजनाको लाभ उठाउन र ठूला उद्यमीको रूपमा स्थापित गर्न आग्रह गरेका छन्।

किसानहरूको उत्पादनलाई सहि मूल्य दिलाउने विषयमा पनि विभाग र सरकार गम्भीर रहेको जानकारी दिंदै सिक्किम राज्यभित्रै एउटा रेगुलेटेड मार्केट बनाउने पक्षमा विभाग प्रयासरत रहेको मन्त्री लोकनाथ शर्माले जानकारी दिएका छन्। यस बाहेक स्थानीय कृषि उत्पादनलाई प्रसोधन गराएर विश्व बजारमा पठाउनका लागि प्रसोधन केन्द्र उद्घाटनको तयारीमा सरकार रहेको बताए। सिक्किम जैविक खेती गर्ने राज्य भएका कारण यहाँको उत्पादनको माग विश्व बजारमा नै रहेकाले स्वंय सहायता समुहले उत्पादनको क्षेत्रमा विशेष जोड दिनुपर्ने मन्त्रीले आग्रह गरेका छन्। किसान मोर्चाले आयोजन गरेको स्वंय सहायता समुहको सम्मेलनमा उत्कृष्ट कार्य गर्दै आएका समुहलाई सम्मान गरिएको थियो। यसै अवसरमा बागबाणी विभागले केही सहुलियतको लाभ स्वंय सहायता समुहलाई वितरण पनि गऱ्यो भने विभागका निदेशक बीएल दाहालले समुहहरूले मिलेर गर्नसक्ने बागबाणी र कृषि योजनामाथि जानकारी गराएका थिए। कार्यक्रमलाई एसकेएम किसान मोर्चाका अध्यक्ष पदम शर्मा, सिक्किम खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटियाले सम्बोधन गरेका थिए।

About Author

Advertisement