कोलकाता: मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) विरुद्ध जारी राजनीतिक र कानुनी संघर्षका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले विरोधको अनौठो माध्यम अपनाउँदै कविता लेखनमार्फत आफ्नो असहमति प्रकट गरेकी छन्। उनले यस विषयमा २६ वटा कविता समेटिएको पुस्तक सार्वजनिक गरेकी हुन्।
‘एसआईआर: २६ इन २६’ शीर्षकको उक्त पुस्तक २२ जनवरीमा ४९औँ अन्तर्राष्ट्रिय कोलकाता पुस्तक मेलामा विमोचन गरिएको हो। पुस्तकमा ‘प्यानिक’ (आतङ्क), ‘डूम’ (विनाश), ‘मक्री’ (उपहास), ‘फाइट’ (संघर्ष), ‘डेमोक्रेसी’ (लोकतन्त्र) र ‘हू इज टु ब्लेम’ (दोषी को ?) जस्ता शीर्षकका कविताहरू समेटिएका छन्।
पुस्तकको भूमिकामा मुख्यमन्त्री बनर्जीले यसलाई “विनाशकारी खेलमा ज्यान गुमाउनेहरूलाई” समर्पण गरेकी छन्। उनले बंगालका जनतामाथि “निरन्तर भय सिर्जना गर्ने अभियान” चलाइएको आरोप लगाउँदै यी कविताहरू “प्रतिरोधको चेतना”बाट जन्मिएको उल्लेख गरेकी छन्।
कवितामार्फत आक्रोश
‘डूम’ शीर्षकको कवितामा बनर्जी लेख्छिन्, “हामी कहिलेसम्म चुप लागेर बस्ने ? यो मौनताको अर्थ शान्ति होइन, यसको अर्थ जीवनहरू क्रमशः नष्ट भइरहेका छन्।” कविताको अर्को पंक्तिमा उनले “हामीलाई जवाफ चाहिन्छ, र त्यो जवाफ जनताको अदालतमा पाइनेछ” भनेकी छन्।
‘मर्ग’ (मुर्दाघर) शीर्षकको अर्को कवितामा लोकतन्त्रलाई “निर्ममतापूर्वक कुल्चिँदै लगिएको” उल्लेख गर्दै आन्दोलनहरू स्वयं “एजेन्सी–राज”को नियन्त्रणमा परेको दाबी गरिएको छ।
तीन दिनमै लेखिएको पुस्तक
पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा मुख्यमन्त्री बनर्जीले यात्राका क्रममा तीन दिनमै उक्त पुस्तक लेखेको दाबी गरिन्। उनका अनुसार हालसम्म उनका १६३ वटा पुस्तक प्रकाशित भइसकेका छन्।
पूर्व सांसदसमेत रहेकी बनर्जीले आफूले न त सांसदको पेन्सन लिने गरेको न त मुख्यमन्त्रीको तलब नै लिने गरेको बताइन्। उनका अनुसार पुस्तक तथा अन्य सिर्जनात्मक कार्यबाट प्राप्त रोयल्टीबाटै उनका व्यक्तिगत खर्च चल्ने गरेका छन्।
बहुआयामिक सिर्जनाकर्मी ममता:
तृणमूल कांग्रेसकी संस्थापक ममता बनर्जी बहुआयामिक सिर्जनाकर्मीका रूपमा पनि परिचित छन्। लेखिकाका रूपमा उनले कविता, लघुकथा, निबन्ध र राजनीतिक टिप्पणी लेख्दै आएकी छन्। उनी चित्रकारसमेत हुन्, जसका चित्रकला प्रदर्शनीहरू भारत र अन्तर्राष्ट्रिय स्तरमा आयोजना भइसकेका छन्। सामाजिक विषय, प्रकृति र मानवीय संवेदनासँग सम्बन्धित गीतहरू पनि उनले रचना गरेकी छन्।










