खरसाङ: खरसाङ क्षेत्रमा एसआईआर प्रक्रिया अन्तर्गत मतदाता सुचिबाट नाम डिलिट भएका मानिसहरू सोमवार सडकमा निस्केका छन्। मतदाता सूचीबाट नाम डिलिट भएपछि मानिसहरु अचम्मित हुँदै विभिन्न गुनासोहरुको साथमा खरसाङको रेलवे स्टेशनमा भेला भएर एउटा रैली आयोजित गरेका थिए। उक्त रैली खरसाङको रेलवे स्टेशनबाट शुरु भएर पंखाबारी रोड हुँदै महकुमा शासक कार्यालय गएको भए पनि प्रशासनद्वारा रोकिएपछि नयाँ रोड भएर नयाँ बजारस्थित टाउन सार्वजनिक भवनसम्म पुगेको थियो। रैली अवधि मानिसहरुले आफुहरुले कुनै अवस्थामा पनि भोट हाल्न पाउनु पर्ने भन्दै खरसाङ महकुमा कार्यालयका डिएमडिसीलाई ज्ञापन बुझाएका छन्। ज्ञापनमा एसआईआर अन्तर्गत मतदाता सूचिबाट नाम काटिएकाहरुको गुनासो राखिएको थियो। रैली अवधि खरसाङको विभिन्न भागवाट मानिसहरु भेला भएका थिए। रैलीमा मानिसहरुले विभिन्न प्लाकार्डहरु लिएर प्रदर्शन गरेका थिए। सबैले मतदाता सूचीबाट नाम डिलिट हुनु कुनै षडयन्त्र हुनसक्ने भन्दै आश्चार्य प्रकट गरेका छन्। मानिसहरुले विभिन्न नाराको साथमा विरोध प्रदर्शन गरेका थिए।

मतदाता विशेष गहन संसोधन एसआईआरको सूचीबाट कलाकारहरु, सरकारी मानिसहरु, निर्वाचितहरु, चियाबारी श्रमिकहरु लगायत विभिन्न क्षेत्रका मानिसहरु र जनसाधारणको नाम काटिएको बताइएको छ। एसआईआरको सूचीबाट खरसाङ नगरपालिका क्षेत्र र खरसाङ खण्ड अन्तर्गत विभिन्न ग्राम पञ्चायत क्षेत्रमा रहेका बुथहरुबाट धेरैको नाम काटिएको जानकारी प्राप्त भएको छ। मतदाता सूचीबाट नाम डिलिट हुनेहरुले पत्रकारहरुलाई सम्बोधन गर्दै आफ्नो आफ्नो गुनासोहरु र प्रतिक्रिया दिएका छन्। सबैले यसपालीको चुनाव अघि नै नामहरु फेरि आउनु पर्ने माग गरेका छन्। यसको साथै जसरी पनि भोट हाल्न पाउनु पर्ने माग राखेका छन्। सबैले आफुहरु रोहिग्या होइन तर पुस्तौंदेखि यही बस्दै आएको र कुनै तक्निकी कारणले नाम काटिएको हुनसक्ने र आफ्नोमा चाहिएको कागज पत्रहरु भएर पनि नाम डिलिट भएकोमा गुनासो पोखेका छन्।

उक्त रैली खरसाङको टाउन हलमा पुगेर एक सभामा परिणत भएको थियो। उक्त सभालाई पञ्चायत समिति सदस्य सुमन बम्जनले सञ्चालन गरेका थिए। सभालाई सम्बोधन गर्दै जीटीएको प्रमुख कार्यपाल अनित थापाले सम्बोधन गर्दै भने, ‘चुनाव आउँछ-जान्छ तर पहिला हामीले हाम्रो मतदाता बचाउनु पर्छ। हामीले लडाई लड्नु नै पर्छ। तपाईहरुलाई भोट हाल्नु सक्ने बनाउँछौ नै भनी प्रतिबद्धता व्यक्त गरे।’ यस सभालाई एसपी शर्माले पनि सम्बोधन गरेका थिए। यस रैली र जमघटमा एसआईआरको सूचीबाट नाम डिलिट हुनेहरुले पत्रकारहरुलाई सम्बोधन गर्दै आफ्ना आफ्ना गुनासोहरु राखेका थिए।










